क्यानबेरा । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुल्ला नगर्ने सङ्केत गरेको छ ।
अस्ट्रेलियाका व्यापारमन्त्री डान टेहानले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुल्ला गर्न अस्ट्रेलियालाई हतार नभएको स्पष्ट पार्नुभएको हो ।
सिमाना खुल्ला गर्नु कति ठिक र कति बेठिक भन्ने विषयमा सरोकारवाला र विज्ञहरूसँग परामर्श तथा छलफल भइरहेको उहाँले बताउनुभयो ।
सिमाना अहिले नै खुल्ला गर्न हतार गर्न नहुने सुझाव अधिकांश विज्ञ तथा सरोकारवालाले दिएकाले अझै केही समय सिमाना नखुल्ने उहाँले स्पष्ट पार्नुभयो ।
विशेष सेवा र अवस्थाका लागि भने निर्धारित सर्त पूरा गरेर हवाइयात्रुलाई भने अस्ट्रेलियाले आवतजावत गर्न दिएको छ ।
न्युजिल्यान्ड र अस्ट्रेलियाको बिचमा हवाइसेवा गत अप्रिलदेखि खुल्ला गरिएको छ । तर सबै देश तथा क्षेत्रलाई अस्ट्रेलियासँगको सिमाना खुल्ला गर्न भने अस्वीकार गरिएको छ ।
कोरोना महामारी अझै पनि खतरामुक्त अवस्थामा नरहेकाले सिमाना खोल्ने जोखिम लिन नचाहेको व्यापारमन्त्री टेहानले बताउनुभयो । (रासस–सिन्ह्वा)