बेइजिङ । चीनले आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्री सहितको शेन्झाउ–१२ रकेट २०७८ असार ३ गते प्रक्षेपण गरेको छ ।
तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्ने छन् । उनीहरू अन्तरिक्ष केन्द्रमा तीन महिना बस्ने छन् ।
हाल संयुक्त राज्य अमेरिका र रुससँग मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र छन्, जहाँ पृथ्वीबाट पठाइएका अन्तरिक्ष यात्री महिनौँ बसेर अध्ययन र अनुसन्धानका कार्य गर्ने गर्दछन् ।
चीनले यसअघि पनि अन्तरिक्षमा मानव पठाइसकेको छ । यो चीनको सातौँ मानवसहितको अन्तरिक्ष यात्रा हो । चीनले पाँच वर्ष यता मानवसहितको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको थिएन ।
चीनको अन्तरिक्ष केन्द्र (सिएमएसए) का अनुसार चीनको उत्तर–पश्चिम स्थित गोबी मरुभूमिबाट चिनियाँ समयानुसार बिहान ९.२२ बजे रकेट प्रक्षेपण गरिएको थियो । प्रक्षेपण गरिएको करिब ५७३ सेकेन्डपछि सेन्झाउ–२ भूउपग्रह अन्तरिक्ष केन्द्रमा प्रवेश गरेको थियो ।
सिएमएसएले भूउपग्रह र त्यहाँ यात्रारत सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेकाले अन्तरिक्ष कार्यक्रम सफल भएको जनाएको छ ।
यस पटक अन्तरिक्ष गएका यात्रीहरूमा सेन्झाउ–६ र शेन्झाउ–१० बाट दुई पटक अन्तरिक्ष यात्रा गरिसकेका ५६ वर्षीय निई हाइसेङ, शेन्झाउ–७ अभियानमा संलग्न ५४ वर्षीय लिउ बोमिङ र पहिलो पटक अन्तरिक्ष यात्रा गर्न लाग्नुभएका ४५ वर्षीय टाङ होङ्बो रहनु भएको छ ।
उहाँहरूले चीनको अन्तरिक्ष कार्यक्रममा तीन महिनासम्म बसेर नयाँ रेकर्ड कायम गर्नु हुने छ । यसअघि २०१६ मा सेन्झाउ–११ बाट अन्तरिक्ष गएका यात्री ३३ दिनसम्म अन्तरिक्षमा बस्नुभएको थियो ।
यस पटक अन्तरिक्षको यात्रामा जानेहरूले यसअघिका भन्दा निकै जटिल र चुनौतीपूर्ण कार्य गर्नुपर्ने चिनियाँ अन्तरिक्ष केन्द्रका सहायक निर्देशक हाओ चुनले बताउनुभयो । उनीहरूले खासगरी अन्तरिक्ष केन्द्रको सञ्चालन, सरसफाइ, उपकरणको परीक्षण एवम् केही वैज्ञानिक अनुसन्धान गर्ने छन् ।
चीनले गत अप्रिल २९ मा नयाँ अन्तरिक्ष केन्द्रको मुख्य मोड्युल पठाएको थियो । (रासस–सिन्ह्वा)