बेइजिङ । चीनको उत्तरी क्षेत्रस्थित साङ्सी प्रान्तको एक फलामखानीमा बाढीको पानी पसेर दुर्घटना हुँदा कम्तीमा ११ जना मजदुरको मृत्यु छ ।
स्थानीय अधिकारीहरूका अनुसार बाढीमा फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य अझै जारी रहेको छ ।
डाइक्सिन काउन्टीको सूचना कार्यालयले बुधबार करिब एक बजे फलाम खानीको एउटा कुवामा पानी पसेको जनाएको छ । यसअघि उक्त खानी भित्र १३ जना हराइरहेको अनुमान गरिएको थियो ।
खानीभित्र थुनिएका मजदुर रहेको स्थानबाट पानी बाहिर निकालिएको पनि उक्त कार्यालयले जनाएको छ । खानीको हिलो र माटोमा पुरिएको आशङ्का गरिएका अरू तीन जना मजदुरको खोजी जारी रहेको छ ।
स्थानीय उद्धार कार्यालयले उक्त घटनाको छानबिन सुरु भइसकेको जनाएको छ ।
खानी मजदुरको शव निकाल्ने क्रममा उद्धारकर्मीले टनेलभित्र ठुलो सङ्ख्यामा फ्युज, डेटोनेटर र विष्फोटक पदार्थ भेटिएको बताएका छन् । विष्फोटक पदार्थ डिस्पोजल गर्ने विज्ञको टोली पनि उक्त खानीमा पठाइएको छ ।
बुधबार बिहानैदेखि भइरहेको भारी वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ । (रासस–सिन्ह्वा)