काठमाडौं । भू तथा पर्यावरण संरक्षण अभियान, नेपालको आयोजनामा आज (शुक्रबार) वृहत अन्तरक्रिया कार्याक्रमको आयोजना गरिएको छ । ‘ढुंगा, गिट्टी र बालुवाको निकासी तथा पर्यावरणको राष्ट्रिय खतरा’ विषयमा विषयविज्ञ तथा राजनीतिक दलहरुकाबीच जुमद्वारा अन्तरक्रिया कार्यक्रम गर्न लागिएको हो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा हुन लागेको कार्यक्रममा पर्यावरण संरक्षणमा चासो राख्ने विज्ञ तथा राजनीतिज्ञहरुको सहभागिता रहने अभियानका अध्यक्ष रश्मीराज नेपालीले जानकारी दिनुभएको छ । मध्यान्न १२ बजेदेखि सुरु हुने कार्यक्रममा भारतका वरिष्ठ राजनीतिज्ञ सीपीआईएमएलका महासचिव केएन रामचन्द्रनको पनि आतिथ्यता रहने छ ।
कार्यक्रममा अभियानका अध्यक्ष नेपालीले अवधारणा पत्र प्रस्तुत गर्नुहुने छ भने विषय विज्ञहरु वरिष्ठ वनस्पतिविद् प्राडा तीर्थबहादुर श्रेष्ठ, वातावरण कानुनविद् डा काशीराज दाहाल, वातावरणविद्, डा. केदार रिजाल, चुरे तराई मधेश संरक्षण विकास समितिका डा. नागेन्द्र यादव, पर्यावरणविद् डा. विजयकुमार सिंहलगायतले अवधारणामाथि टिप्पणी गर्नुहुने छ ।

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एमाले) माधव–झलनाथ पक्ष, नेकपा (क्रान्तिकारी माओवादी) लाई पनि आमन्त्रण गरिएको छ ।
हालै सरकारले बजेट वक्तव्यमार्फत ढुंगा, गिट्टी, बालुवा भारत निकासी गर्ने निर्णय गरेपछि पर्यावरण संरक्षण थप चुनौतिपूर्ण बन्दै गएको अभियानका अध्यक्ष रश्मीराज नेपालीले बताउनुभएको छ । पर्यावरण संरक्षण एवम् सरकारको गलत निर्णयविरुद्ध जनमत सिर्जना गर्न कार्यक्रम आयोजना गरिएको नेपालीले बताउनुभयो ।
यो पनिः भारतलाई खुशी पार्न आलुको भाउमा चुरेका ढुंगा दिने योजना : नेपाली