पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त हुनुभएको छ । बिहीबार विश्वासको मत प्राप्त गर्न असफल भएपछि मुख्यमन्त्री गुरुङ पदमुक्त हुनुभएको हो । प्रस्तावको पक्षमा २७ मत परेको छ भने विपक्षमा ३० मत परेको छ।
मतदानमा स्वतन्त्र सांसद दीपक मनाङे अनुपस्थित रहे भने राष्ट्रिय जनमोर्चाबाट निष्कासित सांसद कृष्ण थापा तटस्थ बसेका थिए । उनी मतदानको समयमा कुर्सीबाटै उठेनन्
थापालाई जनमोर्चाले जिम्मेवारीबाट निष्काशन गरे पनि सर्वोच्च अदालतले थमौती गरेको थियो । राजमो केन्द्रीय सदस्यसमेत रहेका थापालाई पार्टीले केन्द्रीय समिति सदस्यलगायत सबै जिम्मेवारीबाट निष्काशन गरेको थियो ।
संविधानको धारा १६८ उपधारा ३ अनुसार बनेको गुरुङ सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि उपधारा ५ आकृष्ट भएको छ। गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङबाट संवैधानिक प्रावधानअनुसार विहीबार विश्वासको मत लिन प्रयास गरिएको हो ।