काठमाडौँ । प्रजातन्त्रका लागि आजीवन सङ्घर्षरत म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसान सुकी विरुद्ध भ्रष्टचारसम्बन्धी मुद्दा थपिएका छन् ।
सुकी विरुद्ध औपचारिक सुनुवाइ सुरु हुन केही दिन मात्रै बाँकी रहेका बेला थप नयाँ अभियोग थपिएको बिबिसीले जनाएको छ ।
आगामी जेठ ३१ सोमवारदेखि सुकी विरुद्ध औपचारिक सुनुवाइ हुँदै छ । म्यानमारको एन्टी–करप्सन कमिसनले गरेको छानबिनपछि याङ्गुन क्षेत्रका पूर्वमुख्यमन्त्रीसँग ६ लाख डलर र सुन लिएको अभियोग सुकीमाथि थपिएको हो ।
यस्तै द खिन कि फाउन्डेसनको अध्यक्ष भएका बेला सुकीले सम्पत्ति र जग्गा लिजमा दिने क्रममा अनियमितता गरेको अभियोग लगाइएको छ ।
सुकीमाथि यसअघि नै लाइसेन्स बिना वाकटकीहरू राखेको, कोरोना भाइरस नियन्त्रणका लागि लागु गरिएका नियम तोडेको, उपनिवेश कालदेखिको देशको आधिकारिक गोप्य ऐन तोडेकोलगायत मुद्दा लागेको छ ।
गत फेब्रअरी १ मा सेनाले सत्ता हत्याएपछि सुकी हिरासतमा हुनुहुन्छ । सेनाले सत्ता हातमा लिएपछि भएको प्रदर्शनमा अहिलेसम्म आठ सय ५० जनाभन्दा धेरैको ज्यान गइसकेको छ । (बिबिसी)