काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्न लागेको स्रोतले जनाएको छ ।
नयाँ थपिएका मन्त्रीहरूमध्ये गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापालाई जिम्मेवारी दिन लागिएको छ । थापा पूर्वगृहमन्त्री रामबहादुर थापाकी श्रीमती हुन् ।
माओवादीबाट एमालेमा प्रवेश गरेका थापासहितका नेताहरूलाई सर्वोच्च अदालतले काम गर्न रोक लगाएपछि थापाकै सिफरिसमा श्रीमतीलाई मन्त्री बनाउन लागिएको हो ।
त्यस्तै, वन तथा वातावरण मन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडीको नाम तय भएको छ । रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफैँले राखेका छन् ।
त्यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आसा विक रहेकी छिन् । आठ मन्त्रीहरूको आजै साँझ शपथ राखिएको छ ।
यी हुन् ओलीका नयाँ सारथी
१) नारदमुनि राना, वनमन्त्री
२) मोहन बाँनिया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद््को कार्यालय
३) खगराज अधिकारी, गृहमन्त्री
४) नैनकला थापा, सञ्चारमन्त्री
५) ज्वालाकुमारी साह, कृषिमन्त्री
६) राजकिशोर यादव, उद्योगमन्त्री
७) गणेश पहाडी, सामान्य प्रशासनमन्त्री
८) आसा विक, वनराज्यमन्त्री