काठमाडौं । चीनमा गन्तब्यविहीन यात्रामा हिँडेको हात्तीको एउटा बथानले पाँच सय किलोमिटरको दूरी पार गरेको छ । झियान टाउनशिपको एउटा गाउँ नजिकै आराम गरेर सो बथान फेरि अघि बढेको बीबीसीले जनाएको छ ।
ती जनावरहरू लगभग एक महिनादेखि आफ्नो प्राकृतिक निवासबाट पाँच सय किलोमिटर टाढा यात्रा गरिरहेका छन्। हात्तीहरू खेत, गाउँ र शहरमा घुम्दै गर्दा अधिकारीहरूले उनीहरूमाथि कडा निगरानी गरिरहेका छन्।
स्थानीय सरकारले १४ वटा ड्रोन र लगभग पाँच सय जनालाई हात्तीको बगाललाई सुरक्षित राख्न, तथा सडक पार गराउन र हात्तीहरूलाई दक्षिण-पश्चिमतिर डोर्याउने प्रयास गर्न लगाएको जनाइएको छ । अघिल्लो पटक उनीहरूलाई फर्काउने प्रयासहरू असफल भएका छन् ।
सो बथान पछाडि फर्केर दक्षिण–पश्चिम युन्नान प्रान्तको शिशुआंग्बनाको मेनग्याङजी नेचर रिजर्भतर्फ जाने अनुमान गरिएको छ ।
झुण्डमा १५ वटा हात्तीहरू छन् जसमा तीन वटा छावा पनि छन् । ती जनावरहरूले करोडौं डलर मूल्यको बाली खाइरहेका छन्, भवनहरूलाई क्षति पुर्याइरहेका छन् ।
एशियाई हात्ती लुप्तप्राय प्रजाति हो। चीनसँग केवल तीन सय जति जंगली हात्तीहरू छन्, मुख्यतया युन्नान प्रान्तको दक्षिणमा।





