काठमाडौं । प्रदेश २ सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । बुधबार राति तीन जना मन्त्रीले सपथ लिएसँगै कर्णालीपछि प्रदेश २ मा पनि कांग्रेस सरकारमा सामेल भएको हो ।
मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । कांग्रेसबाट सरकारमा सहभागी संसदीय दलका नेता रामसरोज यादव भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिंचाई र वीरेन्द्र सिंहलाई सञ्चार मन्त्रीको जिम्मेवारी दिइएको छ ।
तीनजना मन्त्रीले बुधबार राति पद तथा गोपनियताको सपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको सपथ गराउनुभयो ।
प्रदेश सरकारले कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाइएको छ । यस्तै, माओवादी केन्द्र पनि सरकारमा सहभागी हुन तयार भएपनि एक मात्र मन्त्रालय दिने भनेपछि तत्काल सरकारमा जान अस्वीकर गरेको छ ।