काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले एकताको बाधक शीर्ष नेतृत्व रहेको बताउनुभएको छ । बुधबार सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल नै एमाले एकताको बाधक रहेको आरोप लगाउनुभएको हो ।
‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने’ सामाजिक सञ्जालमा भट्टराईले लेख्नुभएको छ, ‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र केकालागि गर्दैछ यो सब ?’
दुई कित्तामा विभाजित भएको एमालेमा भट्टराई नेपाल–खनाल पक्षमा देखिएपनि पछिल्लो समय उहाँले कित्ता परिवर्तन गर्ने चर्चा चलिरहेको बेला भट्टराईको यस्तो तर्क आएको हो । आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका भट्टराईले संवादहीनता तोडेर साझा संकल्प गरे पार्टी एकता सम्भव रहेको बताउनुभएको छ ।
पूर्वमन्त्रीसमेत रहेका एमाले नेता भट्टराईको आग्रह छ, ‘यस विषयमा कमरेडहरू बीचमा गम्भीर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी छ ।’
एमालेमा एकता कायम गर्न दोस्रो तहका नेताबीच वार्ता तीव्र बनिरहेका बेला त्यसमा संलग्न नेता भट्टराईको यस्तो अभिव्यक्ति आएको हो ।
