वासिङटन । कोरोना भाइरस महामारीका कारण सन् २०२० मा ठुलो आर्थिक सङ्कट र बेरोजगारी झेलेको अमेरिकी अर्थतन्त्र अहिले तीव्र गतिमा अघि बढेको छ ।
तर कोरोना भाइरसको खोप लगाएसँगै खुल्ला भइरहेको अमेरिकी अर्थतन्त्र अहिले कामदारको अभाव र आपूर्ति व्यवस्थामा समस्या झेलिरहेको छ ।
अमेरिकी धेरै कम्पनीले कामदार पाउन सकेका छैनन् भने ग्राहकका मागलाई पूर्ति गर्ने गरी सामानको आपूर्ति गर्न मुस्किल परेको छ ।
फिलाडेल्फियास्थित पारिवारिक फर्म चलाउने एल्मर सुल्ज सर्भिसेजका अध्यक्ष कर्बी माल्लोनले भने– “अहिले परिस्थिति विष्फोटक छ अर्थात् बत्ती बाल्नुजत्तिकै छ ।”
यस कम्पनीले रेस्टुराँ र अन्य ग्राहकका लागि भान्साघरका सामानको मर्मतसम्भार सम्बन्धी सेवा दिन्छ ।
उनले भने– “श्रमबजार नियन्त्रणबाहिर छ । हामीले प्राविधिक भेट्टाउन सकेका छैनौँ । हामीले यति चाँडै बजार खोल्यौँ कि हामी सायद तयार नै थिएनौँ ।”
आर्थिक क्षेत्रका विज्ञहरूले पनि अमेरिकी अर्थतन्त्रमा पछिल्लो परिस्थिति अनुमान गरेकै थिएनन् । के यो अर्थतन्त्र सबल भएकै कारण उत्पन्न भएको हो वा सङ्घीय सरकारले उपलब्ध गराएको राहतका कारण भएको हो ? अर्थविदहरूको प्रश्न यही छ ।
धेरै पक्षबाट विचार गर्दा खुसी हुनुपर्ने कारण छन् । अमेरिकी अर्थतन्त्र जनवरीदेखि मार्चमाझ ६.४ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो त्रैमासिक अवधिमा अर्थतन्त्र झण्डै दोब्बर अङ्कले वृद्धि हुँदै छ ।
रोजगारीका क्षेत्रमा गत मे महिना पाँच लाख ५९ हजार नयाँ रोजगारी सिर्जना भएको थियो । गत अप्रिल महिनामा यस्तो रोजगारी दुई लाख ७८ हजार मात्र थप भएको थियो ।
अर्कोतर्फ, घरमै महिनौँ बस्न विवश लाखौँ उपभोक्ता बजारमा खुल्ला रूपमा निस्किएका छन् र उनीहरू केही न केही सामान किन्न आतुर देखिएका छन् । उनीहरूलाई सङ्घीय सरकारले यसै वर्ष उपलब्ध गराएको एक हजार ४०० अमेरिकी डलरको राहतले पनि खर्च गर्न उक्साएको छ ।
त्यस्तै, अमेरिकी कारखानाहरू पनि आपूर्ति र कामदारको कमीकै बाबजुद पनि उच्च क्षमतामा सञ्चालन हुन थालेका छन् । सप्लाई म्यानेजमेन्ट इन्स्टिच्युटको सूचक पनि गत महिना ६१.२ विन्दुमा पुगेको थियो । यो सूचकले ५० विन्दुभन्दा माथि भएमा वृद्धि जनाउँछ ।
अमेरिकामा प्रमुख १८ मध्ये १६ वटा कम्पनीले पर्याप्त आपूर्ति गर्न नसकेको जनाएको पनि इन्स्टिच्युटको भनाइ छ । (रासस–एपी)