काठमाडौँ । खाडी मुलुक कुवेतले कोरोना विरुद्धको खोप लगाएका गैरकुवेती नागरिकलाई आफ्नो देश प्रवेश गर्न दिने जनाएको छ । तर यसबारेमा कुनै यकिन निर्णय भने भइसकेको छैन ।
कुवेत सरकारले मान्यता प्रदान गरेका कोरोना विरुद्धका खोप लगाएका यात्रुलाई कुवेत प्रवेश गर्न दिने त्यहाँका स्थानीय पत्रिकालाई उद्धृत गर्दै गल्फ न्युजले समाचार छापेको छ ।
कुवेतले केही दिन पहिले बायोएनटेक, मोडेर्ना, अक्सफोर्ड एस्ट्राजेनिका, जोनसन एन्ड जोनसन खोपलाई मान्यता दिएको छ । अब यी खोप लगाएका यात्रुलाई कुवेत प्रवेश गर्न दिइने जनाइएको हो ।
कोरोना सङ्क्रमण फैलिएसँगै कुवेतले गत जनवरीदेखि आफ्ना नियमित उडानको ८० प्रतिशत उडान घटाएर दैनिक एक हजार यात्रु सङ्ख्या तोक्दै गैरकुवेतीको प्रवेशमा कडाइ गरेको थियो । तर मे २२ देखि भने यात्रु सङ्ख्या बढाएर दैनिक पाँच हजार तोकेको छ । जुनको अन्तिमदेखि कुवेतले आफ्ना सबै उन्तर्राष्ट्रिय उडान विस्तारै खोल्दै जाने समाचार त्यहाँ स्थानीय पत्रिकाले लेखेका छन् ।
कुवेतले मे १० देखि नेपाल, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबिच हुने सबै व्यावसायिक उडानमा प्रतिबन्ध लगाएको छ । यी चार देशबाट यात्रुहरू सिधै कुवेत जान पाउँदैनन् तर अन्य कुनै देशमा १४ दिन अनिवार्य बसेको खण्डमा भने कुवेत प्रवेश गर्न सक्छन् । तर अफिसियल, कूटनीतिक नियोगका कर्मचारी भने स्वास्थ्यका मापदण्ड पालना गरेर सजिलै प्रवेश गर्न सक्छन् ।