बुटवल । राष्ट्रिय जनमार्चा लुम्बिनीका सांसद तारा जिसीले प्रधानमन्त्री केपी ओलीले आफ्नो सत्ता जोगाउन देशलाई फिजी बनाउन खोजेको आरोप लगाउनुभएको छ । आजबाट सुरु भएको प्रदेश सभाको अधिवेशनलाई सम्बोधन गर्दै सांसद जिसीले संसद विघटन गरेर विदेशीलाई नागरिकता दिन अध्यादेश ल्याइएको बताउनुभयो ।
‘लामो समयदेखि प्रतिनिधि सभामा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक जननिर्वाचित संस्थालाई असंवैधानिक ढंगले विघटन गरेर अध्यादेश बाट ल्याइएको छ’ जिसीले भन्नुभयो, ‘आफ्नो सत्ता जोगाउन गैरनेपालीलाई नागरिकता बाँडेर देशलाई फिजी र सिक्किमीकरणको दिशामा पुर्याउन खोजिएको छ ।’ उहाँले विदेशीलाई खुसी पारी सत्ता लम्बाउने सरकारको प्रयासप्रति भर्त्सना गर्दै तत्काल यो अध्यादेश फिर्ता गर्नसमेत माग गर्नुभयो । वास्तविक नेपालीहरू नागरिकताबाट वन्चित हुन नहुनेमा उहाँले जोड दिनुभयो । सरकारको नियत नै ठीक नभएको भन्दै दिर्घकालिन महत्त्वका विषयमा निर्णय गर्ने अधिकार यो सरकारलाई कस्ले दियो ? भनी प्रश्न उठाउनुभयो ।
जिसीले ओली र उनका मतियार प्रदेश सरकारहरु हटाउन आवश्यक रहेको भन्दै आफ्नो पार्टीले प्रतिगमविरुद्ध आउने सबैसँग सहकार्य गर्ने स्पष्ट पार्नुभयो । नेपाली कांग्रेस सहितको गठबन्धनलाई ‘तिलको पहाड’ नबनाउन चेतावनी पनि दिनुभयो ।
‘गठबन्धन दलका आ–आफ्नै सिद्धान्त,राजनीति मुल्य र मान्यता छन् । मतभेद छन्, असहमति छन् र पछि पनि रहिरहन्छन् जुन स्वभाविक हो। तर पनि तात्कालिक मुद्दामा एकजुट भएर संघर्ष गरेका दर्जनौं उदारण पनि छन्’ उहाँले भन्नुभयो, ‘त्यसकारण गठबन्धन बारे ‘तिलको पहाड’ बनाउनु आवश्यक छैन । ‘गणतन्त्र, संविधान, राष्ट्रियता,धर्म निरपेक्षता लगायत संघर्षका उपलब्धिहरू ओली सरकार र त्यसका मतियार प्रदेश सरकार समेतलाई हटाउनुपर्ने आवश्यकता छ ।’
उहाँले थप्नुभयो, ‘देशमा प्रतिगामी तथा विदेशी शक्ति सल्वलाई रहेको अवस्थामा देशको अस्तित्वको रक्षा गर्न र विधिको शाशन कायम राख्न यस्तो प्रवृत्ति हटाउन हामी सबैको कर्तव्य र जिम्मेवारी हो, गठबन्धन त्यसैको प्रयास हो भनी बुझ्न जरूरी छ ।’
सांसद जिसीले प्रदेश सभाको अधिवेशन बोलाएकोमा प्रदेश सरकारलाई धनयवाद दिँदै जनताको अवस्था बुझ्न सुझाव पनि दिनुभयो । भोली सरकारको विनियोजन विधेयक,२०७८ का सिद्धान्त र प्राथमिकतामा छलफल केन्द्रित हुनेछ ।