बेइजिङ । चिनियाँ खोप सिनोभ्याक्सलाई विश्व स्वास्थ्य सङ्गठनले आकस्मिक प्रयोगका लागि मान्यता दिएको समाचारमा जनाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार सो खोपलाई मान्यता दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
सो खोप चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेक कम्पनीले उत्पादन गरेको हो । सो खोपलाई मान्यता दिनका लागि चीनले निकै लामो समयदेखि माग गरिरहेको थियो । सो खोपलाई मङ्गलबार विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले उक्त कम्पनीको चिनियाँ खोपलाई १८ वर्ष उमेरका र सो भन्दामाथिको उमेरका व्यक्तिलाई लगाउन पाइने गरी अनुमति पनि दिएको छ । सो खोप १८ वर्षभन्दा माथिका व्यक्ति र सोभन्दा माथिकालाई दिन मिल्ने र दुई डोज दिनु पर्ने गरी विश्व स्वास्थ्य सङ्गठनले अनुमति दिएको बताइएको छ ।
त्यसका साथै विश्व स्वास्थ्य सङ्गठनले प्रकाशन गरेको विज्ञप्तिमा उक्त खोप पहिलो पटक लगाउने र दोस्रो पटक लगाउने अवधि दुईदेखि चार हप्तासम्मको हुनुपर्ने पनि जनाएको छ । १८ वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिले यो चिनियाँ सिनोभ्याक लगाएका र उनीहरूमा त्यस्तो कुनै नराम्रो असर नदेखिएको पाइएको पनि सो विज्ञप्तिमा जनाइएको छ । (रासस/सिन्ह्वा)

