मिन्स्क । बेलारुसले आफ्ना नागरिकलाई देशबाहिर जानमा रोक लगाएको छ ।
कोरोना नियन्त्रणका लागि भन्दै सरकारले यस्तो निर्णय गरेको हो । बेलारुसको सीमा सुरक्षा बलका अनुसार केही समयका लागि यो नियम ल्याइएको हो ।
सरकारले अनिवार्य रूपमा सबै भूमिसीमा पार नगर्न निर्देशन गरेको छ । गत अगस्टमा अलेक्ज्यान्डर लुकासेन्को राष्ट्रपति पदमा विजेता घोषित भएदेखि निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्षी दलहरूले आह्वान गरेको विरोध प्रदर्शनमा नागरिकको व्यापक सहभागिता भएको थियो ।
सरकारले विरोधमा उत्रिएका नागरिकमाथि झुटा मुद्दा दर्ता गर्दै विभिन्न आरोपमा सुरक्षा नियन्त्रणमा लिने र दुःख दिने गर्न थालेपछि ठूलो सङ्ख्यामा नागरिकहरू देशबाट पलायन भई शरणार्थीका रूपमा पूर्व सोभियत सङ्घबाट छुट्टिएका अन्य मुलुकतिर जाने क्रम बढेपछि सरकारले विदेश जाने नागरिकलाई नाकामा कडाइ थालेको हो ।
चिकित्सा र प्राविधिक विज्ञहरूको ठुलो सङ्ख्यामा पलायन हुने ‘डर’ पछि मिन्स्कमा सरकारले गत डिसेम्बरमा लामो अवधिको लागि पेस गर्न सक्ने बेलारुसका नागरिकको प्रस्थान सीमित गर्न विदेशमा आवासीय अनुमति प्रक्रियालाई थप जटिल बनाएको छ । सरकारले लामो समयको भिसा प्राप्त गरेका नागरिकलाई विदेश जाने प्रक्रियालाई जटिल बनाइदिएको छ ।
विपक्षीद्वारा विरोध
विपक्षीले अलेक्ज्यान्डर लुकासेन्को नेतृत्वको सरकारको आलोचना गर्दै पछिल्लो प्रावधानले ‘कानुनको उल्लङ्घन’ गरेको बताएका छन् ।
बेलारुसका विपक्षी दलका नेता स्भियातलाना सिखानोस्कायाका प्रतिनिधि भ्यालेरी काभलेउस्कीले यस कदमलाई कानुनको पूर्ण उल्लङ्घन भन्दै ट्विटरमा आफ्नो आक्रोश व्यक्त गर्नुभएको छ ।
गत हप्ता सरकारले ग्रीसबाट लिथुआनियाको राइनायरको उडानलाई अन्यत्र मोडिदिएपछि उक्त देशका लागि र देशबाट हुने हवाइ उडानलाई अस्थायी रूपमा स्थगित गरिएको थियो ।
बेलारुसका अधिकारीले ब्लगर र लुकासेन्को आलोचक रमन प्रतासेभिकलाई पक्राउ गर्न सकुन् भनेर व्यावसायिक जेटलाई गलत बहानामा फिर्ता हुन बाध्य पारिएको विपक्षीलाई उद्धृत गरी विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यस कदमले इयुले बेलारुसका लागि हुने र बेलारुसबाट हुने धेरैभन्दा धेरै उडान रोकिँदा इयुका साथै विश्व समुदायले व्यापक आक्रोश व्यक्त गरेको थियो । (रासस/एएनआई)





