बेइजिङ । चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ ।
प्रतियोगितामा सहभागी भएकामध्ये अरू पाँच जना अझै पनि बेपत्ता रहेको र अरू प्रतियोगि भने सम्पर्कमा रहेको अधिकारीहरूले जनाएका छन ।
चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रसकन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो ।
प्रतियोगिता भइरहेको बेला एक्कासि मौसम खराब भएपछि कठाङ्ग्रिएर प्रतियोगीको मृत्यु भएको जनाइएको छ ।
पर्यटकीय क्षेत्रको रूपमा चर्चित बैयिन सहरको जङताइ भन्ने ठाउँमा स्थानीय समयअनुसार शनिबार बिहान ३ बजे यो घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
मौसम अचानक गडबड भएर प्रतियोगीलाई असर गरेपछि तत्कालै घटनास्थलमा उद्धारकर्ता परिचालन गरिएको थियो । उनीहरूले नै मृतक र घाइतेलाई उद्धार गरेका थिए ।
घटनामा परी केही प्रतियोगि घाइते भएका र उनीहरूको उपचार भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् ।
प्रतियोगितामा १७२ जना प्रतियोगी सहभागी भएका थिए । उनीहरूमध्ये अधिकांशको अवस्था सामान्य नै रहेको जनाइएको छ । (रासस–सिन्ह्वा)