काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई १५३ सांसदको समर्थन रहेको दाबी गर्नुभएको छ । विपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष १४९ सांसदको दाबी प्रस्तुत गर्नुअघि नै प्रधानमन्त्री ओली शीतल निवास पुग्नुभएको हो ।
नयाँ सरकार बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) माधवकुमार नेपाल पक्षका सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेता पुग्नु अगावै प्रधानमन्त्री ओली शितल निवासमा पुगेको प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।
रिमालका अनुसार नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दाबी गर्नुभएको हो ।
दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेको रिमालले ट्वीट गर्दै जानकारी दिनुभएको छ ।
शीतल निवासमा बहुमत सांसदहरुको हस्ताक्षर लिएर देउवा लगायत विपक्षी गठबन्धनका नेताहरु गएका थिए। राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसिमा अहिले ५ बजे सकिँदैछ ।
नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ।
— Bishnu Rimal (@BishnuRimal) May 21, 2021