काठमाडौं । कोरोना महामारीको संकट झेलिरहेको भारतमा शक्तिशाली आँधीका कारण अर्को संकट थपिएको छ । भारतका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र दुई लाख मानिस विस्थापित भएका बीबीसीले जनाएको छ ।
अत्यन्त शक्तिशाली भनिएको टाउटे तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा बज्रिएको छ। गुजरात एवम् छिमेकी महाराष्ट्र राज्य उच्च सतर्कतामा रहेका छन्।
तुफानको केन्द्रबिन्दु तटसम्म आइपुग्न कैयौँ घण्टा लागेको थियो। कतैकतै हावाको वेग १८५ किलोमिटर प्रतिघण्टा पुगेको र त्यसले समुद्रमा १३ फिटसम्म छाल उचालिन सक्ने बताइएको थियो।
सो क्षेत्रमा बजारिएको यो सन् १९९८ यताकै सबभन्दा शक्तिशाली तुफान हो।
कोभिड-१९ का कारण भारतीय अस्पतालहरू थेग्न नसक्ने अवस्थामा पुगेका बेला यो तुफान आएको छ।
कोभिडका मामिला दुवै राज्यमा केही समययता घटिरहेका छन्। तर पनि त्यसले पारेका घातक असरहरू अझै अनुभूत भइरहेका छन्।