काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका चार सांसदलाई तत्काल पदमुक्त नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार सुनुवाई गर्दै वैशाख १६ गतेको निर्णय कार्यन्वयन नगर्न र यथास्थितिमा राख्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।
उक्त रिटमाथि निस्कर्षमा पुग्नु पहिले दुवै पक्षसँग छलफल गर्न आवश्यक देखिएको भन्दै सर्वोच्चले दुवै पक्षलाई बोलाएर छलफल गर्ने भएको छ । छलफलका लागि जेठ १६ गते पेशी तोकिएको छ ।
पदमुक्त चार सांसदहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले सांसदले पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे जसपा विभाजित भएको थियो । पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षका यी सांसदहरुले पोखरेललाई समर्थन गरेपछि अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले उनीहरुलाई कारबाही गरी पार्र्टी र सांसद पदबाट बर्खास्त गरेको थियो ।