नयाँदिल्ली । भारतको उत्तर प्रदेशका प्रहरीहरू अहिले गङ्गानदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।
कोरोना सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गानदीको तटमा जथाभावी छाडिएको भन्दै सामाजिक सञ्जालमा तस्बिर पोस्ट भएपछि प्रहरीले अहिले सक्रियता बढाएको हो ।
जिप र डुङ्गाबाट गस्ती गरिरहेका प्रहरीले लाउड स्पिकरको सहायताले नदीमा जथाभावी शव नफाल्न र नदी किनारामा अव्यवस्थित रूपमा शव नछाड्न आममानिसलाई अनुरोध गर्न थालेका छन् । प्रहरीले लाउड स्पिकरबाट भनिरहेको छ– “हामी तपाईंलाई अन्तिम संस्कारका लागि मद्दत गर्न यहाँ आएका हौँ ।”
शुक्रबार वर्षाले उत्तर प्रदेश राज्यको प्रयागराज (इलाहावाद) सहरको गङ्गानदी किनारमा बालुवाले छोपछाप पारेका शव बेरिएका कपडा निकालिदिएको थियो ।
उत्तर प्रदेश सरकारका प्रवक्ता नवनीत सेहगलले आइतबार स्थानीय सञ्चार माध्यममा छापिएका समाचारको खण्डन गर्नुभएको थियो ।
समाचारमा कोभिड–१९ का कारण मृत्यु भएका एक हजारभन्दा बढी शव विगत दुई सातामा गङ्गानदी किनारामा बेवारिसे अवस्थामा भेटिएको उल्लेख थियो ।
एक जना वरिष्ठ प्रहरी अधिकृत के.पी. सिंहले कोभिड–१९ का कारण मृत्यु भएकाको दाहसंस्कारका लागि प्रयागराजको नदी किनारामा अलग्ग ठाउँको व्यवस्था गरिएको बताउनुभयो । कसैलाई पनि नदीको सामुन्ने दाहसंस्कार गर्नबाट रोकिएको उहाँले बताउनुभयो ।
दाहसंस्कारका कार्यमा मद्दत गरिरहेको समाजसेवी संस्था बोन्धु महल समितिका सदस्य रमेशकुमार सिंहले ग्रामीण इलाकामा मृत्यु भएका व्यक्तिको सङ्ख्या निकै ठुलो रहेको बताउनुभयो । उहाँले दाहसंस्कारको काममा बढी खर्च र काठको अभावका कारण धेरै गरिब परिवारले आफ्ना आफन्तजनलाई नदी किनारामा त्यतिकै गाडिदिने गरेको जानकारी दिनुभयो ।
हालका दिनहरूमा दाहसंस्कारका लागि तीन गुणा मूल्य बढेको छ अर्थात् एक शवको व्यवस्थापनका लागि भारु १५ हजारसम्म पर्न थालेको छ । (रासस–एपी)