काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनलमा धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो ।
काठमाडौंको जितमा विदेशी खेलाडी मैसोके ओलुमोउलेले एकमात्रै निर्णायक गोल गरे। खेलको २१औं मिनेटमा धनगढीका विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठले दिएको पासमा ओलुमोउले गोल गरेका थिए। प्रतियोगितामा यो उनको आठौं गोल हो।
उनी प्रतियोगिताको सबैभन्दा बढी गोल गर्ने खेलाडी समेत बनेका छन्। त्यसबाहेक खेलमा कुनै गोल हुन सकेन।
जितसँगै काठमाडौंले ३५ लाख नगर पुरस्कार हात पारेको छ। उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझायो।
लिगको फेयर प्लेको उपाधि बुटवल लुम्बिनी फुटबल क्लबले पाएको छ। लिगमा ५० हजार नगद पुरस्कार रहेको इमर्जिङ प्लेयर (उदियमान खेलाडी) को उपाधिका लागि विश्वास श्रेष्ठ चयन भएका छन् भने उत्कृष्ट कोचमा बालगोपाल महर्जन छानिएका छन्।
उत्कृष्ट गोलकिपरमा किरणकुमार लिम्बु, उत्कृष्ट डिफेन्डरमा दिनेश राजबंशी, उत्कृष्ट मिडफिल्डरमा मैसोके ओलुमोउले र उत्कृष्ट फरवार्ड अन्जान विष्ट छानिएका छन्।

