काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना संक्रमण भयावह बन्दै गएको भन्दै मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोगका लागि अपिल गर्नुभएको छ ।
शुक्रबार विज्ञप्ति प्रकाशित गरी देउवाले सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर प्रयोगशाला स्थापना गर्न माग गर्नुभएको छ ।अवस्था भयावह बन्दासमेत सरकार गम्भीर नबनेको भन्दै देउवाले सरकारको आलोचना गर्नुभएको छ ।
‘कोभिड—१९ को संक्रमणले उग्र रुप लिईरहेको छ । देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सीजन, भेन्टीलेटर सहितका आईसीयू बेड र औषधीको नितान्त अभाव भई सकेको छ । सुदूरपश्चिम लगायतका दुर्गम स्थानहरु र देशभरिमा नै अक्सीजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भईरहेको छ ।
सरकार यस विषयमा अहिलेसम्म पनि गम्भीर र जिम्मेवार देखिएको छैन । म सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरि सबै जिल्लामा अक्सीजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधीको व्यवस्था गर्न माग गर्दछु’ उहाँले भन्नुभएको छ ।
यस्तै, उहाँले आफू सुरक्षित रहेर कोरोना संक्रमणसँग लडिरहेकाहरुलाई सहयोग गर्न पनि उहाँले पार्टीका कार्यकर्ता र आम जनतासँग आव्हान गर्नुभएको छ ।