काठमाडौं । लुम्बिनी प्रदेश सभाका चार विपक्षी दलले संसद बैठक आव्हान गर्न माग गरेका छन् । आइतबार राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी दलले प्रदेश प्रमुख समक्ष बैठकको समावेदन गरेको राजमो सांसद तारा जिसीले जानकारी दिनुभयो ।
चार दलले आजै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावका दर्ता गरेका थिए । विपक्षी दलका ४० सांसदको हस्ताक्षरमा बिहान अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुले आज अपरान्ह प्रदेश प्रमुख समक्ष बैठकको समावेदन गरेका हुन् ।
सो पत्रमा २०७८ वैशाख ६ गते नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरि सकेकोमा आजसम्म छलफल नभएको उल्लेख छ । विपक्षी दलले शंकर पोखरेविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा कूलप्रसाद केसीलाई मुख्यमन्त्रीको रुपमा सिफारिस गरेका थिए ।
यसअघि बहुमत सांसदहरुले अविस्वासको प्रस्ताव दर्ता गरेपछि वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको थियो । सोही दिन विपक्षी सांसदहरुको विरोधका बीच सुरक्षाकर्मी लगाएर उहाँलाई पुनः मुख्यमन्त्रीको सपथ ग्रहण गराइएको थियो ।