काठमाडौं । कोरोना संक्रमणबाट आक्रान्त भएको भारतले अर्को पीडा ब्यहोरेको छ । भारतको असममा आज (बुधबार) बिहानै शक्तिशाली भूकम्प गएको छ ।
भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार बुधबार बिहान ७ बजेर५१ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । गुवाहटी र तेजपुरमा भूकम्पको तीव्र झट्का महसुस भएको नेसनल सेन्टर फर सिस्मोलोजीले जनाएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार क्षतिको एकिन विवरण प्राप्त भइसकेको छैन तर भूकम्प गएका क्षेत्रमा ठूलो क्षति भएको खबर आइरहेको छ । थुप्रै पर्खाल र रूढ ढलेका जानकारी प्राप्त भएको तथा मानिसको भागाभाग भएको अमर उजालाले जनाएको छ ।
कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो
भारतमा कोरोनाभाइरस संक्रमण तीव्र गतिमा बढिरहँदा कोरोनाका कारण मृत्यु हुने मानिसको संख्या मंगलवार दुई लाख नाघेको छ । मंगलवार मात्रै तीन हजार २८६ जना व्यक्तिको ज्यान गएको छ ।
यो महामारी शुरू भएयताकै एक दिनमा मृत्यु भएको सबैभन्दा उच्च सङ्ख्या भएको अधिकारीहरूले बताएका छन् । स्वतन्त्र विश्लेषकहरूका अनुसार भारतमा कोभिड–१९ का कारण ज्यान गुमाउने मानिसहरूको संख्या सरकारले बताउने गरेको भन्दा दोब्बर हुनसक्छ ।
गत एक साताभित्र मात्र २० लाख कोरोनाभाइरस सङ्क्रमित थपिएको तथ्याङ्क छ । मृतकको हिसाबले संयुक्त राज्य अमेरिका, ब्रजिल र मेक्सिकोपछि भारत चौथो स्थानमा रहेको छ ।





