काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आज (सोमबार) अविस्वासको प्रस्ताव टेबुल हुँदै छ । प्रदेशसभाको आजबाट सुरु हुने विशेष अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल गर्ने कार्यसूची छ ।
मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । उनीहरुले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन बोलाउनुभएको हो ।
अविश्वासको प्रस्तावमा २८ जना सांसदको हस्ताक्षर रहेको छ । तीन दलले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेका छन् ।
राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आइतबार बसेको राजमो प्रदेश संसदीय दलको बैठकले अविस्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
राजमो संसदीय दलका नेता कृष्ण थापाको अध्यक्षतामा बसेको बैठकले सो प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । बैठकमा राजमो सांसदहरु पियारी थापा र खिमविक्रम शाही उपस्थित हुनुहुन्थ्यो । यस्तै, राजमो महासचिव मनोज भट्ट र गण्डकी प्रदेश अध्यक्ष शंकर बरालको विशेष उपस्थिति रहेको थियो ।
६० सदस्यीय प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकजना सांसद छन् । यस आधारमा मुख्मन्त्री गुरुङविरुद्धको अविस्वास प्रस्ताव सहजै पास हुने देखिएको छ ।
अविश्वासको प्रस्ताव दर्ता हुन लागेको सुइँको पाएपछि वैशाख १ गते मध्यरातमै मुख्यमन्त्री गुरुङले संसद अधिवेशन अन्त्य गर्नुभएको थियो । तर अविश्वासको प्रस्ताव दर्तासँगै तीन दलले विशेष अधिवेशनका लागि प्रदेश प्रमुखसामु समावेदन दिएका थिए ।
प्रदेशसभा सचिवालयका अनुसार अविश्वासको प्रस्तावमाथि छलफल सकिएपछि मतदान हुनेछ ।