काठमाडौं । इराकको राजधानी बगदादमा कोभिड संक्रमित बिरामीको उपचार गरिरहेको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ । शनिवार राति खतिब अस्पतालमा शुरू भएको आगलागीमा परेर दर्जनौँ घाइते भएका बीबीसीले जनाएको छ ।
अक्सिजन ट्यांकी विस्फोट हुँदा आगलागी भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । आपत्कालीन अधिकारीहरूले १२० जना बिरामीमध्ये ९० जनाको उद्धार गरिएको बताएका छन् । इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाईबाट आगलागी शुरू भएको थियो ।
इराकको नागरिक सुरक्षा विभागका अनुसार आइतवार सबेरै सम्ममा आगो नियन्त्रणमा आएको छ ।
इराकमा कोरोनाभाइरस फेब्रुअरीयता तीव्र रूपमा बढिरहेको छ र यो हप्ता सम्ममा १० लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार कुल १० लाख २५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको र १५,२१७ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ ।