काठमाडौँ । अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले नेपाली जनताले नेकपा (मसाल) मा आफ्नो भविष्य खोजिरहेको दावी गर्नुभएको छ ।
नेकपा (मसाल) ३ नं. ब्युरोको आयोजनामा २०७८ वैशाख ९ गते ७३औँ नेकपाको स्थापना दिवस तथा १५२ औँ लेनिन जन्मदिवसको अवसरमा मन्तव्य राख्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
‘नेकपा (मसाल) आम शोषित–पीडित नेपाली श्रमजीवीले विश्वास गरिरहेको अभिभावक पार्टी हो’ उहाँले अगाडि भन्नुभयो– ‘नेपाली जनता नेकपा (मसाल) को राजनीतिभित्र आफ्नो भविष्य खोजिरहेका छन् ।’
देशमा कम्युनिस्ट नामका थुप्रै राजनीतिक पार्टी भएको बताउँदै उहाँले आकारले मात्रै सबै कुराको छिनोफानो नहुने बताउनुभयो ।
मुख्य कुरा राजनीति हो’ पुनले भन्नुभयो– ‘नेकपा (मसाल) को सही क्रान्तिकारी राजनीतिकै कारणले शोषित–पीडित नेपाली जनताले यो पार्टीभित्र भविष्य खोजेका हुन् ।’
महान् लेनिनको सन्दर्भमा उहाँले विभिन्न खाले अवसरवादका विरुद्ध सङ्घर्ष गरेको इतिहास स्मरण गर्नुभयो ।
‘लेनिनले विभिन्न खाले अवसरवादी धारका विरुद्ध सङ्घर्ष गर्नुभयो’ उहाँले भन्नुभयो– ‘अर्कातिर, लेनिनले मजदुर र किसानलाई साथ लिएर अगाडि बढ्नुभयो ।’
नेतृ पुनले लेनिनद्वारा मुख्यतः मजदुरलाई र सहायक शक्तिको रूपमा किसानलाई साथ लिएकै कारणले सोभियत सङ्घमा समाजवाद निर्माण हुन सकेको बताउनुभयो ।
लेनिनको असामयिक निधनका कारणले समाजवाद निर्माणमा कम समय दिन सके पनि स्टालिनले उक्त अभिभारालाई पूरा गरेको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘लेनिनको उपर्युक्त सही विचार र राजनीतिले गर्दा नै विश्वभरिका सर्वहारा वर्गले वर्गसङ्घर्षबाट आफ्नो मुक्ति पाइन्छ भन्ने विश्वास गरिरहेको बताउनुभयो ।
नेकपा (मसाल) ३ नं. ब्युरो प्रवक्ता समीर सिंहको अध्यक्षतामा अघि बढेको सो कार्यक्रमको सञ्चालन नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मीले गर्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल कानुन व्यवसायी सङ्घका महासचिव लक्ष्मणदेव पाण्डे, जातीय समता समाजका महासचिव भक्त विक, अखिल नेपाल प्रगतिशील लेखक सङ्घका केन्द्रीय कोषाध्यक्ष प्रकाश थापामगर, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार रमेश पौडेल, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य घनश्याम अधिकारी (वैरागी जेठा), प्रगतिशील पत्रकार सङ्घकी केन्द्रीय सदस्य लक्ष्मी चौधरी, अखिल नेपाल राष्ट्रिय खेलकुद सङ्घका संयोजक पृथ्वी थापा, राष्ट्रिय जनमोर्चा काठमाडौँका सदस्य यामलाल खनाल र अखिल नेपाल जनजाति सम्मेलन काठमाडौँका अध्यक्ष अरुण थिङले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा युगदर्शनका सम्पादक विद्यानाथ अधिकारीको पनि आतिथ्यता रहेको थियो ।