काठमाडौं । राष्ट्रिय जनमोर्चाले हठात रुपमा संसद अधिवेशनको अन्त्य गरिएकोप्रति आपत्ति जनाएको छ । सरकारले संसदलाई पंगु बनाएर पुनः विघटन गर्न चाहेको र देशलाई मध्यावधि निर्वाचनमा धकेल्ने षडयन्त्र गरेको राजमोले आरोप लगाएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार एक वक्तव्य प्रकाशित गरी पुनर्स्थापित संसदविरुद्ध रहेका ओलीले संसदलाई पंगु बनाएको बताउनुभएको छ ।
उहाँले संसदमा उठेका प्रश्नहरुको जवाफ नदिई हठात रुपमा संसदको अधिवेशन अन्त्य गरिनु निरंकुश र अधिनायकवादी चरित्र भएको स्पष्ट पार्नुभएको छ ।
वक्तव्यमा भनिएको छ,
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको जारी हिउँदे अधिवेशनलाई यही २०७८ साल वैशाख ६ गते हठात रुपमा अन्त गरेको कार्यको हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले घोर विरोध तथा भर्त्ना गर्दछ ।
ओलीले अधिनायकवादी तथा असंवैधानिक रुपमा २०७७ साल पौष ५ गते संसद भंग गरेका थिए । जनताको आन्दोलनको बलमा तथा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कुनै संवैधानिक व्यवस्था नभएका कारण सर्वोच्च अदालतले विघटित संंसदलाई पुनस्र्थापित गरेको थियो । तर ओली पुनस्र्थापित संंसदका समेत विरुद्ध रहँंदै आएका छन् । पुनस्र्थापित संंसद विरुद्धको मानसिकताका कारण नै सरकारले संसद अधिवेशन शुरु भएदेखि नै संसदलाई कुनै बिजिनेश (काम) नै नदिई पंगु बनाउने र संसदले उठाएका विषयमा कुनै सुनवाई नै नगरी त्यसप्रति घोर उपेक्षाको नीति अपनाउँदै आएको थियो ।
संसदमा सरकारका विषयमा उठेका सवालहरुको जवाफ दिनु सरकार प्रमुखको नाताले प्रधानमन्त्रीको दायित्व हुन्छ । संसदीय परम्परा अनुसार पनि त्यसको जवाफ नदिई संसदको नियमित बैठकका लागि तोकिएको मितिमा बैठक बस्न नदिई हठात रुपमा संसद अधिवेशनको अन्त गरेका छन् । उनको यो अधिनायकवादी तथा निरंकुश कदमको हामी घोर विरोध तथा भर्त्सना गर्दछौँ ।
ओली यो संसदलाई भंग गरेर देशलाई मध्यावधिमा धकेल्नका लागि जुनसुकै हत्कण्डा अपनाउन तयार भएका छन् । ओलीको यो क्रियाकलापले देशको गणातन्त्र तथा राष्ट्रियता खतरामा परेको छ ।
२०७८ वैशाख ७
चित्रबहादुर केसी