काठमाडौं । त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले मलेसियाविरुद्ध सानदार जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित निकालेको हो ।
मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १२ दशमलव १ ओभरमा १ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कुशल भुर्तेलले ६१ रनको रनको अविजित पारी खेले । कुशलले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । आसिफ शेख ४२ रन जोड्दा क्याच आउट हुन पुगे । २९ बलको सामना गरेका आरिफले ४ चौका र १ छक्का हाने । दिपेन्द्र सिंह ऐरि ६ रनमा नटआउट रहे ।
त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको मलेसिया १६ दशमलव ५ ओभरमा १ सय ९ रन जोड्दा अलआउट भयो । कसिलो बलिङ गरेका नेपालका बलरहरुले मलेसियाका ब्याट्सम्यानलाई लामो समय क्रिजमा टिक्न दिएनन् ।
लगातार विकेट पतनपछि दबाबमा आएको मलेसियाका लागि सयद अजिजले जोडेको २७ रन नै सर्वाधिक बन्न पुग्यो । मलेसियाका ८ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। सर्भिन मुनियनडेले २० र साफिक सारिफले १५ रन थपे ।
करण केसी एक्लैले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । सोमपाल कामी, कुशल मल्ल, साहब आलम र दिपेनद्र सिंह ऐरिले एक एक विकेट लिए । ऐरिले टि–२० आइमा आफ्नो करियरको पहिलो विकेट लिएका हुन । यसअघि उनले एक दिवसीय खेलमा २ विकेट झारेका छन।
नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। नेपालले सिरिज अन्तर्गतको आफ्नो तेस्रो खेलमा भोलि नेदरल्याण्ड्ससँग खेल्नेछ।