गणेश आचार्य
राजनीतिक आन्दोलन सञ्चालन गर्नका लागि सबैभन्दा ठुलो हतियार भनेको जनसहभागिता हो । आन्दोलनमा जनसहभागिता बढाउनका लागि जनसम्बन्ध सुदृढ पार्न जरुरी हुन्छ । जनसम्बन्ध सुदृढ नहुँदासम्म आन्दोलन वा सङ्घर्षमा जनसहभागिता बढ्न सक्दैन । त्यसैले आन्दोलन, विचार, योजना र कार्यक्रमको सफलतामा जनताको सहभागिता जोडिएको छ । त्यो जोड्नका लागि जनसम्बन्ध कसरी सुदृढ गर्ने भन्ने कुरामा ध्यान दिन जरुरी छ । जनसम्बन्ध सुदृढ भए मात्र आन्दोलनमा जनसहभागिता बढ्ने हो ।
आन्दोलनमा जनसहभागिताको कति महत्व छ भन्ने कुरा जान्नका लागि २०६२–६३ को जनआन्दोलनलाई हेर्दा काफी हुन्छ । २०५९ असोज १८ र २०६१ माघ १९ गते राजाले शाही घोषणा गरेपछि राजनीतिक दलहरूले निरन्तर त्यसको विरोधमा आन्दोलन सञ्चालन गरे । ती आन्दोलनमा केही सीमित राजनीतिक पार्टीका कार्यकर्ताले विरोध जनाउने काम मात्र भयो । आन्दोलनमा जनसहभागिता नभएपछि २०४६ को परिवर्तनपछि सत्तामा रहेका राजनीतिक दलले आफूले पुराना गल्ती नदोहो¥याउने बाचा गरे । जनतामा दलप्रति केही विश्वास जाग्यो । त्यसपछि आम नेपाली जनता जुरुक्क उठेर आन्दोलनमा आए । त्यसैको कारण राजतन्त्रको अन्त्य भयो । नेपाली राजनीतिमा धेरै अघिदेखि उठेको संविधान सभाको चुनाव हुने भयो । देशमा ठुलो राजनीतिक परिवर्तन सम्भव भयो । यस्तै विश्वका ठुला ठुला परिवर्तन पनि जनताकै सहभागितामा सफल हुने गरेको इतिहास हामीले पाउने गरेका छौँ । रुसको अक्टोबर क्रान्ति होस् या फ्रान्सेली क्रान्ति, सबै क्रान्ति र परिवर्तन जनताको सहभागितामा सम्पन्न भएका हुन् ।
सम्पूर्ण जनता एकै पटक वैचारिक रूपमा स्पष्ट हुन गाह्रो हुन्छ । मान्छेको चेतनाको श्रोत भनेको सामाजिक अस्तित्व हो । सामाजिक अस्तित्वले नै चेतना निर्धारण गर्दछ । राजनीतिक रूपमा अहिलेको सामाजिक अस्तित्व भनेको दलाल पुँजीवादी र सामन्तवादी सामाजिक–राजनीतिक अस्तित्व हो । त्यही अस्तित्व आम नागरिकको जानकारीको श्रोत हो । त्यसैले आम नागरिकले आफ्नो दृष्टिकोण बनाउने त्यही आधारमा हो ।
नेपालको सन्दर्भमा आम नागरिकले काङ्ग्रेस, एमाले र माओवादीले जे गरे, त्यसैलाई राजनीति भनेर बुझेको पनि पाइन्छ । तर ती पार्टीहरूको राजनीति वास्तवमा राजनीति नभएर त्यो बेइमान, झुट र व्यापारभन्दा अरू हुन सकेन । उनीहरूले राजनीतिलाई बद्नाम गर्ने काम मात्र गरे । त्यसैले जनतालाई वास्तविक कुरा बुझाउन जरुरी छ । जनतालाई वास्तविक कुरा बुझाउनका लागि पहिला जनताका समस्यासित जोडिन जरुरी छ ।
जनताका दिनानुदिनका समस्यासित जोडिन सकियो भने मात्र जनतासित जोडिन सकिन्छ । जनताका दिनानुदिनका समस्या धेरै प्रकारका छन् । काम, रोजगार, उपचार, झैझगडा, आठाकिला, किनबेच, पढाइ, सरकारी कामकाज, पुलिस– प्रशासन, विभिन्न आरोप–प्रत्यारोप—यस्तै सामान्य समस्याले जनता तड्पिरहेका हुन्छन् । केही फट्याइँ गर्नेहरू यस्तै समस्यालाई आफ्नो आम्दानीको स्रोत बनाउने, जनतामा भ्रम सृजना गर्ने, सानो समस्यालाई झनै ठुलो बनाई आतङ्कित र भयभित बनाउने, आफूले ठुलै काम गरेकोजस्तो देखाएर ब्ल्याकमेलिङ गर्नेजस्ता काम गरिरहेका हुन्छन् ।
जनताले सामाजसेवी र राजनीतिकर्मीसित ठुलो आसा केही गरेका हुँदैनन् । सानोभन्दा सानो काममा पनि ढाडस र हौसला मात्र हुने हो भने जनतालाई ठुलो आधार हुन्छ । जनताका दिनानुदिनका समस्या र सामान्य ढाडसले जनतामा हौसला प्रदान गर्छ । सामाजिक–राजनीतिक क्षेत्रका मान्छेले यति गर्न सके सामाजिक र राजनीतिक क्षेत्रमा जनताको सहभागितामा वृद्धि हुन्छ ।
अहिले दाङमा राष्ट्रिय जनमोर्चामा प्रवेश गर्ने लहर नै छ । देशभरिका साथीहरू प्रश्न गर्नुभयो, दाङमा के जादु छ त्यस्तो ? खास जादु केही पनि होइन । यदि कुनै जादु छ भने त्यो जनसम्बन्ध नै हो । हाम्रो मुख्य समस्या विचार र व्यवहारबिचको अनमेल हो । हाम्रो विचारलाई व्यवहारसित जोडौं, जनसम्बन्ध त्यहीँ जोडिन्छ ।
अहिले हामी के देख्ने र सुन्ने गरेका छौँ भने आम नागरिकहरू जुन पार्टीसित असन्तुष्टि छ र जसलाई दैनिकजसो गालीगलौज गर्छन्† चुनावमा उसैलाई छान्ने गर्छन् । यस्तो किन हुने गरेको छ ? नागरिक किन यसरी मत निर्माण गर्न बाध्य छन् ? यो विषयमा गम्भीर रूपमा बहस गर्न जरुरी छ । यसलाई मसिनो गरी हेर्दा नागरिकलाई सानो सानो विषयमा पनि ढाडस, हौसला र सहयोग आवश्यक हुन्छ ।
अहिलेको हाम्रो नेपाली समाजको आर्थिक, सामाजिक र राजनीतिक अवस्थाले विचारको आधारमा दृष्टिकोण बनाउने अवस्था देखिएको छैन । राज्यको कुनै पनि समस्या वा मुद्दा समाधान गर्ने पारदर्शी र निस्पक्ष विधि छैन । त्यही कारण राज्यसित पहुँच नभएको आधारमा निर्दोषलाई दोषी र दोषीलाई निर्दोष गराउने सम्भावना पनि हुन्छ । त्यही कारण नागरिकहरू विचार मन नपर्दा–नपर्दै पनि गलत विचारको समर्थन गरिरहेका हुन्छन् । आम नागरिकलाई कति बेला के समस्या पर्छ ? त्यसको केही ठेगान हँुदैन । त्यो समस्या पर्ने बेला बोलिदिने र साथ–सहयोग गर्ने मान्छे नागरिकले खोजिरहेका हुन्छन् । त्यही साथका लागि पनि विचारभन्दा पनि जसको पहुँच र ठुलो जमात छ, त्यसैलाई नागरिकले समर्थन गर्ने गरेको देखिन्छ ।
राजनीतिक कार्यकर्ता, त्यसमा पनि कम्युनिस्ट पार्टीका सदस्यको काम, कर्तव्य भनेको गरिब, निमुखा र उत्पीडनमा परेका नागरिकको साथ–सहयोग र उद्धार गर्नु हो । त्यसैले यस प्रकारका काममा जोडिँदाबित्तिकै जनसम्बन्ध त्यसै जोडिन्छ । माओले कम्युनिस्ट कार्यकर्ता र सदस्यको तीन वटा कार्यशैलीमा जोड दिनुभएको छ । तीमध्ये एक– सिद्धान्तलाई व्यवहारसित मिलाउनु† दुई– जनसमुदायसित घनिष्ट सम्बन्ध राख्नु† तीन– आत्मालोचना–आलोचनाको विधिलाई प्रयोगमा ल्याउनु ।
यी तीनमध्ये यहाँ जोड दिन खोजिएको जनसमुदायसित घनिष्ट सम्बन्ध राख्नु भन्ने विषय हो । हामीले जनसमुदायसित घनिष्ट सम्बन्ध राख्न नसक्ने, हाम्रो राजनीति जनताको दैनिकी र जीवनशैलीसित नजोडिने हो भने त्यो राजनीति गर्नुको केही तुक हुँदैन । त्यसैले राजनीतिक कार्यकर्ताको जनसमुदायसित घनिष्ट सम्बन्ध हुन जरुरी छ ।
योसँगै कम्युनिस्ट पार्टीको सिद्धान्त व्यावहारिक सिद्धान्त हो, जो व्ज्ञिान र यथार्थसित जोडिएको छ । त्यो व्यावहारिक सिद्धान्त त्यति बेला मात्र प्रमाणित हुन्छ, जति बेला कम्युनिस्ट कार्यकर्ताले सिद्धान्तलाई व्यवहारसित मिलाउँछन् । कम्युनिस्टको सिद्धान्त सर्वहारा वर्गीय पक्षधरताको हुने तर व्यवहार बुर्जुवा पक्षधरताको भयो भने त्यो सिद्धान्त र व्यवहारबिचको तालमेल भएन । त्यसैले माओले सिद्धान्तलाई व्यवहारसित मिलाउन जोड दिनुभएको छ ।
यहाँ सँगै आएको विषय आत्मालोचना–आलोचनाको विधिलाई अपनाउने कुरा हो । यसले स्वयम् व्यक्ति र कम्युनिस्ट पार्टीका कार्यकर्तालाई कुशल बनाउनका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । जानेर वा नजानेर कमी–कमजोरी दोहोरिन पाउँदैनन् । जनतामा विश्वासको वातावरण निर्माण हुन्छ । जनतामा विश्वासको वातावरण निर्माण हुनु भनेको नै जनसम्बन्ध प्रगाढ बन्ने कुरा हो ।
अहिले दाङमा राष्ट्रिय जनमोर्चामा प्रवेश गर्ने लहर नै छ । देशभरिका साथीहरू प्रश्न गर्नुभयो, दाङमा के जादु छ त्यस्तो ? खास जादु केही पनि होइन । यदि कुनै जादु छ भने त्यो जनसम्बन्ध नै हो । हाम्रो मुख्य समस्या विचार र व्यवहारबिचको अनमेल हो । हाम्रो विचारलाई व्यवहारसित जोडौं, जनसम्बन्ध त्यहीँ जोडिन्छ । कुरा समाजवादी गर्ने, व्यवहार सामन्ती हुने–यो हाम्रो सामाजिक–राजनीतिक प्रवृत्तिजस्तो भएको छ । जनता र बौद्धिक समुदायको बिचमा आफूलाई असल देखाउन विचार त जनमोर्चाको राम्रो हो भनेर धेरैले भन्छन् । तर मत विपरीत कित्तामा दिन्छन् । यही प्रवृत्ति सिद्धान्त र व्यवहारबिचमा देखिने गरेको छ । जनताको बिचमा क्रान्तिकारी कुरा गर्ने, समकक्षीसँग मध्यपन्थी र विदेशीसँग दक्षिणपन्थी गरेजस्तो गरेर जनसम्बन्ध जोड्न सकिन्न । कम्युनिस्ट आदर्श र लोकलाई ट्रेडमार्कको रूपमा प्रयोग गर्ने प्रवृत्ति नेपालमा धेरैले देखाए । त्यसैले जनतामा विश्वास हटेको छ । त्यो अविश्वासलाई चिर्न हाम्रो व्यापक सक्रियताको खाँचो छ ।
बुर्जुवा राजनीतिका कारण जनसम्बन्धको परिभाषा फेरिएको छ । रक्सी खुवाउने, मासु खुवाउने, मोटरसाइकलमा पेट्रोल हालिदिने, अपराधीलाई अपराधबाट उन्मुक्त गराउने, विकास र रोजगारीका झुटा आश्वासन दिने, सत्ता र शक्तिको दुरूपयोग गरेर काम गराउनेजस्ता क्रियाकलापको आधारमा बुर्जुवा जनसम्बन्ध जोड्ने गर्दछन् । उनीहरू राजनीतिक सच्चाइको कुरा गर्दैनन् । तर कम्युनिस्ट पार्टीका सदस्यले यस्तो आधारको भण्डाफोर गर्दै वर्ग र विचारको आधारमा जनसम्बन्ध जोड्दै जानुपर्दछ ।
यहाँ माथि नै उल्लेख भइसकेको छ, नागरिकको चेतना निर्धारण हुने भनेको सामाजिक अस्तित्वको आधारमा हो । अहिलेको सामाजिक अस्तित्व भनेको बुर्जुवा विकृत राजनीतिको आधारमा खडा भएको सामाजिक अस्तित्व हो । त्यो अस्तित्वले नयाँपुराना सबै पुस्ताका नागरिकको चेतना पनि त्यही विकृत राजनीतिको आधारमा निर्माण हुन्छ । त्यसो भयो भने समाज अन्त्यहीन विकृतिमा फस्न सक्छ । त्यसैले त्यसबाट समाजलाई बचाउन र नागरिकलाई राजनीतिक सच्याइ बुझाउनका लागि पनि क्रान्तिकारी पार्टीले जनसम्बन्धमा जोड दिनुपर्दछ । क्रान्तिकारी पार्टीको जनसम्बन्ध राम्रो भएन भने विचार र धारणा राखेर मात्र आम नागरिकले त्यो कुरा बुझ्न सक्दैनन । त्यसैले जनसम्बन्धलाई सुदृढ र प्रगाढ पार्दै अगाडि बढौँ । त्यही जनसम्बन्धबाट क्रान्तिकारी रूपान्तरणको कामलाई अगाडि बढाउन सकिन्छ ।
(लेखक राष्ट्रिय जनमोर्चाका वैकल्पिक केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष हुनुहुन्छ ।)