काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालको समूहले एमालेमै रहने निष्कर्ष निकालेको छ । प्रचण्ड–नेपाल समूहमा रहेका पूर्वएमाले समूहको आज बसेको स्थायी समितिका सदस्यहरुको बैठकले एमालेभित्रै रहेर प्रधानमन्त्री केपी शर्मा ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निष्कर्षमा पुगेको हो ।
सोमबार नयाँ बानेश्वरमा भएको छलफलमा ‘अब एमालेभित्रै रहेर संघर्ष गर्ने निष्कर्ष निकालेको’ बैठकमा सहभागी एक नेताले बताए । उनीहरुले एमालेमै रहेर ‘जस्तो परिस्थिति आउँछ सामना गर्दै जाने’ ठहर गरेका हुन् ।
आइतबार सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रबीचको एकतालाई अवैधानिक ठहर गर्दै नेकपा नाम पनि नदिएपछि माधव नेपाल समूह सबैभन्दा बढी संकटमा परेको छ । पूर्व एमाले ब्युँतिएपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको समूह उत्साहित भएको छ भने पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्रका अध्यक्षको हैसियतमा छन् ।
राजनीतिक संकट आएपछि त्यसलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल गर्न सोमबार बानेश्वरमा भएको भेलामा नेपाल पक्षका १३ जना स्थायी समिति सदस्य सहभागी थिए।
नेकपा एमाले र माओवादी केनद्रबीच पार्टी एकता भएर बनेको नेकपा गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि विभाजित भएको थियो । विभाजित नेकपामा पूर्व एमालेका माधव नेपाल प्रचण्डसँगै प्रचण्ड–नेपाल समूहको अध्यक्ष छन् भने ओली अर्को समूहको अध्यक्ष भएका थिए। दुवै समूहले एक अर्को पक्षलाई कारबाही र निष्कासन गर्ने निर्णय गरेका थिए ।