काठमाडौं । म्यान्मारमा सैनिक ‘कु’विरुद्ध भइरहेको आन्दोलनमा सुरक्षाकर्मीले ब्यापक दमन गरेको छ । आन्दोलनकारीमाथि अन्धाधुन्द गोली चलाउँदा ३ बालबालिकासहित एकैदिन ३८ नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ ।
म्यान्मारस्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकारको कार्यालयका अनुसार मारिनोमा अधिकांश १४ देखि १९ वर्षका किशोर छन् ।
राष्ट्रसंघीय दूत बूर्गनरले सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते तुल्याइएको बताइन् । उनका अनुसार एउटा भिडिओ क्लिपमा प्रहरीले निसस्त्र स्वास्थ्य स्वयमसेवकको टोलीलाई पिटिरहेको देखिन्छ।
आइतवारको हिंसामा १८ जना मारिएका थिए ।
निर्वाचित सरकार अपदस्थ गर्दै शक्ति हातमा लिएको म्यान्मारको सेनाले संकटकाल घोषणा गरेको छ ।
गत फेब्रुअरी १ मा नेतृ आङ सान सुची, राष्ट्रपति, मन्त्रीसहित सबै लोकतान्त्रिक नेतालाई नजरबन्दमा राखेर सेनाले राज्यसत्ता हत्याएपछि म्यान्मारमा दैनिक विरोध प्रदर्शन भइरहेको छ। नागरिकले प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै निरन्तर आन्दोलन गरिरहेका हुन्।
सेनाले नोभेम्बर महिनामा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको छ । उक्त चुनावमा सूचीको दल नेशनल डेमोक्र्याटिक पार्टीले ठूलो जित हासिल गरेको थियो । सेनाले चुनावमा भएको भनिएको धाँधलीको प्रमाण भने दिएको छैन ।