काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार साँझ एक टेलिभिजनलाई दिएको अन्तर्वार्ता विवादमा परेको छ ।
प्रचण्डले प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाएर आफ्नो समूहसहित नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको सरकार बनाउँदा भारतलाई कन्फर्ट (सहज) हुने प्रतिक्रिया दिएपछि उनी विवादमा परेका हुन् । अन्तर्वार्ताका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नोबारे खुलेर प्रशंसा गर्ने गरेको भन्दै भारतले आफूलाई अविश्वास गर्न नसक्ने बताएका थिए ।
अन्तर्वाताका क्रममा प्रचण्डले भनेका थिए, ‘मैले कसैलाई अविश्वास पैदा होस भनेर गरेको छैन् । भारतप्रति नकारात्मक सोच राखेर मैले केही पनि गरेको छैन् । मैले छिमेकीहरुसँग राम्रो सम्बन्ध हुनुपर्छ, भारतसँगपनि र चीनसँग पनि भन्याछु । तर, भारतसँगको विशिष्ट छ है ।’
उनले जोड दिँदै अगाडि भने, ‘हाम्रो इतिहासले, भूगोलले, संस्कृतिले, धर्मले, अर्थतन्त्रले, परम्पराले, पानी ढलोले, भारतसँगको सम्बन्ध राम्रो बनाउनुपर्छ भन्ने निश्चित गरेकै छ । तर, भारतले मजस्तो मान्छेलाई, जसले शान्ति र लोकतन्त्रको निम्ति यत्रो सेक्रिफाईस गर्यो, मलाई चाहीँ अविश्वास गर्ने हुन्छ भन्ने मलाई लाग्दैन् ।’
अन्तर्वाताका क्रममा उनले भारतलाई सहज हुनेगरी केपी ओलीलाई विदाई गरेर आफूसहित कांग्रेस र जसपाको सरकार बनाउनुपर्ने बताएका थिए ।
प्रचण्डको सो भनाईले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन उनीहरु कसको इशारामा लागिपरेका थिए भन्ने प्रष्ट भएको नेकपा ओली समूहले नेताहरुले दाबी गरेका छन् ।
ओली नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य शान्ता चौधरीले देशको सार्वभौमिकता र जनताको स्वाभीमानमाथि खेलवाड गर्नेलाई बेलैमा चिन्नुपर्ने बताएकी छन्। उनले प्रचण्डको अन्तर्वार्ताबाट विगत एक वर्षदेखि पार्टीभित्रबाटै भएका ‘हर्कत’हरु विदेशीको इसारामा थिए भन्ने कुरा पुष्टि भएको बताएकी छन्।
उनले केही दिनअघि आन्दोलनको बेला प्रचण्डले भारतीय हस्तक्षेपको आब्हान गरेको र अहिले भारत सुहाउदो सरकार बनाउनु पर्छ भन्ने कुरा आउनु खेदजनक रहेको बताउँदै राष्ट्रप्रेमी नेपालीहरु यस्ता हर्कतबाट जोगिएर अघि बढ्नुपर्ने बताएकी छन्। उनले प्रचण्डको अन्तर्वार्ताले केहीमा रहेको भ्रमलाई समेत चिरिदिएको दावी गरेकी छन्।
‘सत्य आफ्नै मुख बाट उजागर हुन्छ भन्थे हो रहेछ। भारतीय सुगमताको लागि कांग्रेस, प्रचण्ड गुट र जसपा मिलेर गठबन्धन गरि सरकार बनाउनु पर्छ भन्ने अध्यक्ष कमरेड प्रचण्डको भनाइ सुनेर मर्माहत भैयो’, शनिबार सामाजिक सञ्जाल फेसबुकमा चौधरीले लेखेकी छन्, ‘विदेशी इसारामा नेपाली जनताको यो भावनाको अपमान हुने गरि बिगत एक वर्षदेखिका अनेक हर्कत भएका रहेछन् भन्ने अब प्रस्ट भयो। देशको सार्वभौमिकता र जनताको स्वाभीमानमाथि खेल खेल्नेहरुलाई बेलैमा चिन्न, अध्यक्ष प्रचण्डले हामी केहीमा रहेको भ्रम चिरिदिनु भयो।’
