बेरुत । सिरियामा भएको अमेरिकाआबद्ध हवाइ कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकु मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ ले शुक्रबार जानकारी दिएको छ ।
इरानको सीमाक्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाइ कारबाही भएको थियो । पहाडी इलाकामा भएको यस हवाइ कारबाहीमा तीन वटा ट्रकहरू ध्वस्त भएको बताइएको छ ।
अब्जरभेटरी प्रमुख रामी अब्दुल रहमानले एएफपीलाई इरान समर्थक १७ लडाकु मारिएका पुष्टि गरेका छन् । समाचारको विस्तृत विवरण भने अझै प्राप्त भएको छैन ।
सिरियामा २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो । यो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।
सो गृहयुद्ध इस्लामिक स्टेट्स (आइएस) र अलकायदाजस्ता आतङ्ककारी समूहहरू हाबी हुदै गएका थिए । यिनै आतङ्ककारी समूहहरूलाई कारबाही गर्ने नाममा अमेरिकाले सिरियामा हवाइ आक्रमण गर्दै आएको छ । (रासस/एएफपी)