ग्वायाक्युली, इक्वेडर । इक्वेडरमा मङ्गलबार तीन वटा जेलमा भएको दङ्गामा परी कम्तीमा ७५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएका प्रहरी स्रोतले जनाएको छ । पश्चिमी बन्दरगाह सहर ग्वायाकिलमा रहेको एक जेलमा २१ जनाको मृत्यु भएको छ ।
यस्तै गरी अर्को एक जेलमा ३३ जना र तेस्रो जेलमा २९ जनाको मृत्यु भएको जनाइएको छ ।
इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले ट्वीटरमा तीन वटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक सङ्गठनको हात रहेको आरोप लगाएका छन् ।
जेलमा पुनः नियन्त्रणका लागि प्रहरी अधिकारीहरूले काम गरिरहेको मोरेनोले बताएका छन् । उक्त विद्रोह रोक्न प्रहरीको सहयोग गर्न सेनालाई पनि खटाइएको उनले थप जानकारी दिएका छन् ।
मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को सङ्ज्ञा दिँदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ ।
गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो । गत वर्ष देशका अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्न प्रयासको लागि जेलमा आपतकालीन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिएका थिए ।
गत डिसेम्बरमा पनि जेलमा ११ कैदी मृत्यु हुनुको साथै सात घाइते भएका थिए । (रासस/एएफपी)