रवि पौडेल ।।
चराचुरुङ्गीहरू आफ्नै तालमा चुँचुँ र चाँचाँ गर्दै उडिरहेका थिए । हावाहुरी र चट्याङबाट गुज्रिएको जीवन कसलाई सरल हुन्थ्यो र ?
दिनभरि भँगेराहरू गुँड बनाउँथे । एकैछिनको हुरीले तहसनहस पारिदिन्थ्यो । फूलबाट चल्ला कोरल्न बसेकी पोथी भगेरालाई कति पीडा भयो होला ?
उता ढुकुरले भर्खरै चल्ला फुर्रफुर्र उड्ने बनाउँदै थियो । ठुलो र मुसलधारे पानी आयो । त्यसैमा ठुला ठुला असिनाले ती प्यारा बचेराहरू थिचिदियो । मुस्किलले ज्यान जोगाएकी पोथी ढुकुरले भोलि पल्ट बिहानै गुड रित्तो भएको देखेर रुखको फेदमा हेरी आफ्ना बचेरालाई कमिलाले खाइरहेको देखिरही ।
आँखाभरि आँसु बगाउँदै फेदीमा झरी पोथी भँगेरा र यताउता पल्टाएर सुँघी । तर ती सन्तानले यो संसार छोडिसकेको थाहा पाई उसले । रुँदै आफ्नो पतिलाई इसारा गरी । उसले बुझेरै सहमति जनायो र भन्यो– प्रियसी यहाँ ठुलो उथलपुथल हुँदै छ ।
यस्तै नियति चिबेचरालाई पनि परेको थियो । यो वर्ष चिबेचराले आफ्नी प्रियजनलाई भनेको थियो– नआत्तिनू, अझ यहाँ के के हुन्छ ? हुन पनि त्यो वर्ष निकै ठुलो क्षति भएको थियो । चराचुरुङ्गीलाई मात्रै होइन, मानव समाजलाई पनि असर पार्ने ठुला ठुला घटना भएका थिए ।
कतै हुरीले गुँड बगाएका थिए । चराहरू रुखमुनि पुरिएका थिए । कतिका घरमा आफ्नो सदस्यको पीडाले आँसु बगाएका थिए । कतै डुबानमा परी लाखौँ घरवारविहीन भएका थिए । ठुलो सङ्ख्यामा घरपरिवारले आफ्ना सदस्य गुमाउनुपरेको थियो ।
कतै राक्षसले कलिला बचेराको अस्मिता लुछिरहेका थिए; मानौँ, दयामाया नै छैन । आँसु र रोदनले आमाका शरीर भिजेको मात्र होइन, आकास गुन्जिएको थियो । डरत्रास र भयले गाउँ नै त्रसित थियो । जसरी ढुकुर र भँगेरालाई त्रास परेको थियो, त्योभन्दा निकै दर्दनाक थियो त्यो पीडा ।
यसै वर्ष जङ्गलको पश्चिमपट्टि ठुलो जातीय घटना भयो । ढुकुरीले भँगेरालाई माया गरेको देखेर ढुकुरहरू रिसाए । आफ्नो औकात देखाउँदै करिब आधा दर्जन भँगेरा मारेर आफ्नो चुच्चोले समाती नजिकैको नदीमा लगेर बगाइदिए ।
धेरै माथि उडिरहेको चिबेचराले भन्यो– यो पनि त उथलपुथल नै होला ?
उसले भन्यो– दयामाया नभएकाहरू !
केही समयपछि ठुलो आवाज आयो । चिबेचरा उड्यो र एकपटक चारैतिर घुमेर आयो । यति बेला गाउँ गाउँमा बादल फाटेको आवाजले चट्याङ परिरहेको थियो । एकैछिनमा उसले सारा गाउँ रोएको सुन्यो । के भयो भनी नजिकै रुखमा बसेर के नियालिरहेको थियो, सबै जनावरहरू भुइँमा छट्पटाइरहेको देख्यो उसले । तिखो बुद्धि भएको चिबेचराले सजिलै बुझ्यो, यहाँ पशुपन्छीको नोक्सान भएको छ । उसले लामो सुस्केरा लियो र उडेर पल्लो डाँडामा गयो । उथलपुथलको यो घटनाले ऊ हैरान भयो ।
अर्को दिन बन्दुकको गोलीको जस्तो आवाज सुनियो । के भयो भनी बुझ्न ऊ धेरै टाढाबाट कष्ट गरेर त्यहाँ पुग्यो । त्यहाँ आफ्नै चरा बाजबाट मारिएको देखेर आँसु बगायो । आफ्नोपनको अभाव भएको महसुस गर्याे उसले । उसलाई थकान लागेर आयो । सुरक्षामा खटिएका भाले मूकदर्शक बनेको देख्यो । मनमनै विचार गर्याे उसले, हेडक्वाटरबाट आदेश नदिएपछि भाले पनि एउटा लठ्ठीको भरमा गोलीको सामना कसरी गर्ने ? आफैलाई प्रश्न गरी भुरुरुरु उडेर आफ्नो गुँडमा गयो ।
तर समय ठिक थिएन । भोलि के हुने हो भन्ने पिरले सताएको थियो ।
भँगेराहरूको गुँड हावाले उडायो । ढुकुरका बचेरा मरे । चिबेचराका सन्तान पनि पहिराले रुख बगाउँदा हराएका थिए । जसरी भए पनि आफ्नो जोडी अहिलेसम्म बचेकोमा चिबेचराले गर्व गर्याे ।
जताततै डर, त्रास, निरासा छाएको थियो । कानुनको खिल्ली उडाउँदै राक्षसहरू नाचिरहेका थिए । कानुन के हो ? कसैले पालना गरेको थिएन । न्याय के हो ? कसैले महसुस गरेको थिएन, जसरी पोथी ढुकुरीले न्याय पाइनन्, दुई वटै बचेरा भुइँमा कमिलाले खाइदिए ।
बाजहरू समृद्धि र विकासको गफ हाँकिरहेको देखेर चिबेचरा खित्का छोडेर चिच्यायो र धर्ती गुन्जायो ।
हेर्दाहेर्दै सडकमा फेरि रातासेता झण्डा हल्लाउँदै मानवरूपी सागर देखियो । गुँडबाट पोथी ढुकुरले ढुकुरलाई इसारा गरी– “यो के हो ?”
“हुन दे, म खाना लिएर आउँछु” भन्दै ढुकुर उडेर गयो ।
सडकपेटीमा होहल्ला भयो । जिन्दावाद र मुर्दाबादका नारा लागे । कोही भोकै, कोहि खाली खुट्टा । ठुला ठुला कुरा, ठुला ठुला गफ, विकासका नारा । कोही विकास छैन भन्ने, कोही भारी विकास भएको भाषण गर्ने । एकले अर्कोलाई आरोप–प्रत्यारोप, भाडभैलो ।
के भएको होला भनेर पत्ता लगाउन चिबेचरा त्यहाँ पुग्दछ त त्यहाँ अर्को हत्या भएको रहेछ । त्यहाँ बाजले निर्बला भँगेरीमाथि अत्याचार गरिरहेको थियो । तर विरोध र समर्थन दुवै देख्न पाइने कस्तो बिडम्बना !
कसैमाथि अत्याचार हुँदा पनि त्यहाँ ताली बज्दो रहेछ । गाली गर्नुपर्ने ठाउँमा ताली बजेको देखेर चिबेचरा पनि हैरान हुन्छ ।
भँगेरा, ढुकुर र चिबेचरालाई अहिले यही पिर परेको छ । किनकि पटक–पटकको उथलपुथलले सबैभन्दा बढी साना साना चरा नै च्यापिएका छन् ।