काठमाडौँ । नेकपा (मसाल) ले केपी ओलीको असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी कदम विरुद्धको आन्दोलनलाई राजनीतिक प्रकारले अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिएको छ ।
मसालले भनेको छ– अराजनीतिक, चरित्रहत्या, गालीगलौज प्रकट गर्ने प्रवृत्तिबाट बचेर आन्दोलनाई राजनीतिक रूपले अगाडि बढाउनुपर्दछ ।
पार्टीप्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७७ माघ २५ गते जारी प्रेसविज्ञप्तिमा यस्तो विचार व्यक्त भएको हो ।
प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“अहिले देशमा प्रधानमन्त्री ओलीको असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी तथा प्रतिगामी कदमका विरुद्ध आन्दोलन र सङ्घर्षका विभिन्न कार्यक्रम भइरहेका छन् । उक्त विषयसित सम्बन्धित सङ्घर्षका कार्यक्रमलाई हामीले दृढतापूर्वक अगाडि बढाउनुपर्दछ । यसबाहेक सामाजिक अपराध, महिला विरुद्ध हुने हिंसा, हत्यालगायत जनताका सरोकारका विभिन्न विषयतर्फ पनि हाम्रो ध्यान रहेको छ । ती सबै कार्यक्रम राजनीतिक रूपले नै सम्पन्न गर्नुपर्दछ र सबै विरोध वा सङ्घर्ष राजनीतिक प्रकारले नै अगाडि बढ्नुपर्दछ भन्ने हाम्रो दृढ मान्यता छ । त्यसैले विभिन्न अराजनीतिक, चरित्रहत्या, गालीगलौज प्रकट गर्ने आदि प्रवृत्तिबाट बचेर हाम्रो आन्दोलन वा सङ्घर्षलाई राजनीतिक रूपले नै अगाडि बढाउनका लागि हाम्रो पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकले ध्यान दिनका लागि अनुरोध गर्दछौँ । यसका साथै आन्दोलन र सङ्घर्षमा त्यस प्रकारका कमजोरी हुन नदिनाका लागि हामीले सबै आन्दोलनका शक्ति तथा राजनीतिक सङ्गठनको पनि ध्यान आकर्षित गर्दछौँ ।”