शुक्रराज भण्डारी, दाङ ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सरकारले प्रतिनिधि सभाको विघटन गरेर गम्भीर गल्ती गरेको बताउनु भएको छ ।
राष्ट्रिय जनमोर्चा दाङले शनिबार आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले ओली सरकारको यो कदमले प्रतिगामी शक्तिहरू सल्बलाउने मौका पाएको, राष्ट्रियता झनपछि झन् कमजोर भएको बताउनु भयो । प्रतिनिधि सभा विघटन हुँदा देश अस्थिरता र अनिश्चितताको दिशामा गएको बताउँदै दक्षिणी छिमेकीको चाहना यहि रहेको र उसको चाहना पूरा गराउने काम ओली सरकारको कदमले गराएको बताउनु भयो ।
कार्यकारी अध्यक्ष नेपालीले यो स्थिति निर्माणका लागि नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपाल उत्तिकै जिम्मेवार रहेको समेत बताउनु भएको छ । उहाँले नेपाली जनताले शात दशकदेखि लडेर र सहिदको रगतसँग साटेर प्राप्त गरेको गणतन्त्र र धर्म निरपेक्षता धेरै संकटमा परेको बताउँदै यसको संरक्षणका लागि आम नेपाली जनतालाई आह्वान गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापाले संघीयताको भारी बोकेर देशलाई असफल बनाउन खोजिएको बताउनुु भयो । उहाँले राष्ट्रिय जनमोर्चाका कार्यकर्तालाई संगठन निर्माणका लागि गाउँ गाउँ र टोल टोलमा जान आग्रह गर्नु भयो।

कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष कासिनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमला जिसीले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष चित्रबहादुर एमसी, तराई मधेस जनवादी मोर्चाका केन्द्रीय उपाध्यक्ष हनुमान चौधरी, जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष टीका विक, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष रामबहादुर जिएम, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य केशव खनाल, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य लालबहादुर भण्डारी, अखिल नेपाल किसान महासंघका दाङ जिल्ला अध्यक्ष ऋषिराम पौडेल, अखिल नेपाल उद्योग व्यापार संघका दाङ जिल्ला अध्यक्ष जगत पोख्रेल, अखिल नेपाल महिला संघका दाङ जिल्ला सचिव सारदा थापा, सहिद टंक आचार्यका बुबा ननुकान्त आचार्य, अखिल नेपाल ट्रेड युनियन महासंघका दाङ जिल्ला सचिव तुलसी पन्थी, रक्तिम साँस्कृतिक अभियानका दाङ जिल्ला कोषाध्यक्ष विक्रम पाण्डे, अखिल नेपाल शिक्षक संघका दाङ जिल्ला अध्यक्ष भानु जिएमको आतित्थ्यता रहेको थियो ।
राष्ट्रिय जनमोर्चा दाङको जिल्ला स्तरीय कार्यकर्ता भेलाले ‘वडा वडा सभा र टोल टोलमा समिति’ भन्ने मूलनाराका साथ माघ महिनाको एक महिने संघर्ष तथा सांगठनिक योजना बनाएको छ । दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षता, उपाध्यक्ष महेश रिजालको स्वागत मन्तब्यबाट शुरू भएको भेलाको सञ्चालन जिल्ला सचिव वबसन्त पौडेलले गर्नु भएको थियोे ।