नवराज पौडेल, कपिलवस्तु ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीको निर्णय नमानेर हुकुमी शैलीमा असंवैधानिक कदम चाल्दा देश दुर्घटनातर्फ गएको बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तुद्वारा वाणगंगामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले असंवैधानिक कदम विरुद्ध सयुक्त संघर्षको आवश्यकता रहेको औँल्याउनुभयो । राष्ट्रिय जनमोर्चाले गणतन्त्र, धर्म निरपेक्षको निम्ति सरकारलाई समर्थन गरेको भए पनि असंवैधानिक कदम चालेपछि समथर्न फिर्ता लिएको पौडेलले स्पष्ट पार्नुभयो ।
भेलाले माघ महिना भरीको संघर्ष र संगठन अभियानको घोषणा गरेको छ । अभियान अन्तर्गत पर्चा वितरण, कोणसभा, र्यालीलगायतका कार्यक्रम हुनेछन् ।
जस अनुसार माघ ५ देखि १० गतेसम्म जिल्ला भरी कोण सभा गर्ने, माघ ११ गते देखि २५ गतेसम्म संगठतमाक अभियान र माघ ३० गते गोरूसिङ्गेमा र्यालीसहित विरोधसभा गरी एक महिने अभियानको समापन गरिनेछ ।
राजमो जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल किसान महासंघ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष शिव पौडेल, महासंघका केन्द्रीय सदस्य केर सिंह अदै लगाएतले सम्बोधन गर्नुभएको थियो ।
भेलामा अखिल नेपाल महिला संघकी अम्बिका पौडेल, जनजाति सम्मेलनका जिल्ला अध्यक्ष नरबहादुर पुन, बुद्धिजीवी संघका संयोजक तथा पत्रकार शशी सापकोटा लगाएको पनि आतिथ्यता रहेको थियो ।