दुर्गानाथ खरेल ।।
कतार नेपाली एकता समाजको निमन्त्रणामा पार्टीको म २०७६ साउन २२ गते कतार एयरवेजको जहाजबाट कतार पुगेँ ।
एकता समाजका नेपाली साथीहरूले हवाइअड्डामा भव्य स्वागत गरेर डेरामा लगे । हवाइजहाजको ३२ गते साउनको फिर्ती टिकट र त्यहाँ होटलमा बस्ने कोठासमेत किटान गरेर टुरिस्ट भिसामा बोलाएको भए पनि होटलको चर्को खर्च बचाउन डेरामा एड्जस्ट गर्ने गरी बन्दोबस्त मिलाएका थिए । डेराको एउटा कोठामा छ जना साथीहरू मिलेर बसेका रहेछन् । मलाई एउटा खाटमा नयाँ ब्लाङ्केट, नयाँ तन्ना र नयाँ सिरानीको खोल किनेर मसँगै मेरै घरमा पठाइदिने गरी लुगासहितको बिस्तरा तयार पारेका रहेछन् । मैले बिस्तरा आफ्नो बनाएँ ।
काठमाडौँबाट अपराह्न ४ बजेको फ्लाइट ८ बजेतिर कतार पुगेको थियो । १० बजे कोठामा पुगेर सुत्यौँ ।
मलाई खाट छाडिदिने साथी एउटा कम्पनीको ड्राइभर हुनुहँुदो रहेछ । उहाँको जिम्मामा एउटा गाडी रहेछ ।
बिच बिचको छुट्टी पर्ने गरी मेरो दश दिनको समय निश्चित गरेका रहेछन् । एकातिर, छुट्टीको दिन अर्कोतिर, आफूले आफ्नो कार्यालयबाट छुट्टी मिलाएर उहाँ आफ्नो गाडीसहित करिब–करिब पूरै दश दिन मसँगै रहनुभयो । भोलि पल्ट उहाँले आफ्नो अफिस, त्यहाँको कामगराइ, साथीहरूसँग परिचय र आफूले बजारबाट किनमेल गर्ने सामान पाइने ठाउँ आदिको अवलोकन गराउनुभयो ।
त्यसको भोलि पल्टबाट व्यस्त कार्यक्रम सुरु भयो । कार्यक्रम मात्र सात दिनको थियो । चार दिनको प्रशिक्षण र तीन दिनको अवलोकन कार्यक्रम निश्चित गरिएका रहेछन् । एकता समाजमा आबद्ध सबै साथीहरूसहित एक दिनका लागि संभव भएजति साथीहरूको प्रशिक्षण थियो ।
मैले स्तरअनुसार सरल र अलि उच्च विषयवस्तु प्रस्तुत गरे पनि ती विषय सिद्धान्त, राजनीति र सङ्गठनसम्बन्धी नै थिए । डेढ घण्टाका दुई पिरियड मात्र पढाउन सकिन्थ्यो । प्रत्येक दिन नास्ताअघि डेढ घण्टाको एक पिरियड र नास्तापछि डेढ घण्टाको एक पिरियड पढाउने गर्दथेँ । कुनै पिरियड सिद्धान्तको एउटा र राजनीति तथा सङ्गठनको एउटा हुने गर्दथ्यो । कुनै दिन सिद्धान्त र राजनीतिको एउटा हुने गरी औचित्यता र आवश्यकताको आधारमा आफैले विषय निश्चित गरेर पढाउने गर्दथेँ । अन्तिम दिनको एउटा पिरियड भने सहभागीहरूको छनोटमा उग्रवामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवादको पाठ पढाएको थिएँ ।
पार्टीका जिम्मेवार साथीहरूलाई सङ्गठनसम्बन्धी प्रशिक्षणमा बढी जोड दिएको थिएँ । एकता समाजको सामान्य साथीहरूका लागि सिद्धान्तमा बढी जोड दिएको थिएँ । मैले कान कम सुन्ने भएको हुनाले सरल र स्पष्ट बुझ्ने गरी पढाउने कोसिस गर्थें । प्रश्नोत्तर कम हुने गर्दथे । सहभागीहरू खुसी र सन्तुष्ट देखिन्थे । त्यसबाट म बुझाएर पढाउन सकेको महसुस गर्दथेँ ।
पहिलो कुरा त उनीहरूको त्यहाँ पनि आम्दानीअनुसार आर्थिक हैसियत फरक थियो । आर्थिक हैसियतअनुसार सुत्ने कोठा, बैठक कोठा, किचेन, डाइनिङ छुट्टाछुट्टै भएका साथीहरू पनि थिए । एउटै कोठामा आठ जनासम्म अटसमटस गरेर गुजारा चलाउने पनि थिए । दोस्रो कुरा, मजदुर भए पनि उनीहरू त्यहाँका लागि मध्यम हैसियत भएका निम्न पुँजीपति थिए । उनीहरूको सिक्ने चाहनालाई त्यसले फरक पार्दथ्यो ।
नेपालीहरू संसारका धेरै देशमा र धेरै सङ्ख्यामा गएका छन् । धेरैजसो कामदारको रूपमा गएका छन् । उनीहरूको घर, जहान–केटाकेटी नेपालमा नै छन् । केहीले उतै घरजम गरेर बसेका र केही बसाइँसराइ गरेर उतै बस्ने गरी गएका छन् । यहाँ सम्पत्ति, जहान भएकाहरू उता काम गरे पनि यहाँ छोराछोरीको पढाइ, स्वास्थ्योपचार, रोजगारी सबै यहीँ हुने भएकाले आम्दानी सबै यतै ल्याउने गर्दछन् ।
राजनीतिक चासो पनि यहाँको नै हुन्छ । तिनीहरूसँग भएको राजनीतिको समस्या र सङ्गठनको समस्या पनि अप्ठेरो छ । किनभने त्यहाँ हुँदा त्यो देशको राजनीतिसँग कुनै चासो, संलग्नता र सकृयता हुन्न । नेपाली–नेपाली मिलेर आपसी हित र आपसी सहयोग आदानप्रदान आदि मात्रै हुने हुन् । चासो भए यहाँको राजनीतिको हो । विदेशमा भएर देशभित्रको राजनीतिमा चासो राखे पनि मामुली सहयोग मात्र पुग्ने हो, खासै निर्णायक महत्त्व हुन सक्दैन ।
जहाँसम्म मजदुरको राजनीति हो, त्यहाँ मजदुर छन्, त्यहाँको राजनीतिमा संलग्नता छैन । चासो राखे पनि निर्णायक काम केही हुन सक्दैन । तिनीहरू नै देशभित्र आएपछि यहाँका मजदुर हुन्नन्, निम्न पु“जीपति हुन्छन् । उनीहरूको राजनीतिमा प्रभावकारी भूमिका हुन सक्दैन । उतै घरजम र बसाइँसराइ गरेर गएका गैरआवासीय नेपाली हुन् । उनीहरूले आफ्नो छुट्टै सङ्गठन बनाएर सक्दो सहयोग गर्छन्, गरिरहेका छन् । त्यस्तो भए पनि देशको राजनीतिमा सहयोगी भूमिका मात्रै हुन सक्दछ; र, हुने गरेको पनि छ ।
मजदुरको राजनीति गर्नका लागि त्यहाँ मजदुर भएकै अवस्थामा राजनीतिक चेतनास्तर उच्च बनाउन सक्ने हो भने अवश्य पनि र उछार पाए पनि÷नपाए पनि उनीहरू देशका नागरिक हुन्; र, उनिहरूबाट देशको राजनीतिमा महत्त्वपूर्ण योगदान अवश्य हुने छ ।
कतार सानो देश भएको भए पनि र त्यहाँको जनसङ्ख्या अझै पाँच लाखभन्दा बढी नभए पनि त्यो देशमा २२ लाख मान्छे छन् । धेरैजसो विदेशी कामदार छन्; र, केही व्यवसायी पनि छन् ।
कतार तीनतिर समुद्रले र एकतिर सउदी अरबसँग जमिनले जोडिएको छ ।
त्यहाँको मुख्य उत्पादन खजुर रहेछ । सन् १९९० सम्म देशमा खासै आम्दानी केही नभएकाले आर्थिक सम्पन्नता र आर्थिक चहलपहल बढेको रहेनछ । १९९० मा समुद्रबाट ग्याँस उत्खनन् गरेर बेच्न लागेपछि राष्ट्रिय आम्दानी ह्वात्तै बढेको रहेछ ।
माटोसमेत नभएको मरुभूमि देशमा सउदी अरबबाट दुध र दुधजन्य पदार्थ ल्याउने रहेछन् । जमिनसँग जोडिएको त्यही एउटा मात्र देशले नाकाबन्दी लगाएपछि विदेशबाट एक वर्षभित्रमा प्रविधि, प्राविधिक, माटोसमेत भित्राएर गाईफार्म सञ्चालन गरेर अहिले दुध विदेशसमेत पठाउने रहेछन् । माटो बाहिरबाट ल्याउने, समुद्रको पानी प्रसोधन गरेर पाइपबाट भेन्टाको बेर्नाको जरामा पुर्याउने, मल र रेखदेख गर्ने प्राविधिक व्यवस्था गरेर चार–पाँच हेक्टर जमिनमा भेन्टा खेती गरिरहेको प्लट मैले पनि अवलोकन गर्न पाएको थिएँ ।
बाहिर बढी गर्मी भएकाले सबै एसी भएको गाडीबाट यात्रा गर्ने, घर र कोठामा समेत एसीको व्यवस्था गरेका रहेछन् । जताततै समुद्र भए पनि एकातिरको समुद्रको किनाराबाट बहराइनमा बिजुलीबत्ति बलेको देख्न सकिने रहेछ । मूल सडकमा समेत एसी जडान गरिसकेको कतारमा २०२२ को विश्वकपको लागि निर्माण भइरहेको भव्य रङ्गशाला पनि देख्न सकिन्थ्यो ।
३० वर्षअघिसम्म खजुरबाहेक अरू उत्पादन नहुने मरुभूमिको देशमा यति छिट्टै त्यति धेरै उत्पादन र जीवनस्तर उच्च बनाउन सकिने रहेछ । हाम्रो देशमा पनि साँच्चै जनताप्रति चिन्ता र चासो भएको सरकार हुने हो र यहाँको जनशक्तिलाई विदेश पलायन बनाउनुको साटो यहीँका साधनश्रोतको उपयोग गर्न सके जीवनस्तर उच्च बनाउन धेरै वर्ष लाग्ने थिएन ।
प्रशिक्षणको सिलसिलामा पहिलो दिन पार्टीका जिम्मेवार साथीहरूको प्रशिक्षण थियो । सबै ठाउँको प्रतिनिधित्व हुनुपर्ने हुनाले त्यो प्रशिक्षण हामी बसेको ठाउँबाट अलि टाढा र अलि व्यवस्थित बसोबास भएका साथीहरूको डेरामा आयोजना गरिएको थियो । उनीहरू पनि सङ्गठनका जिम्मेवार साथी र म पनि जिम्मेवार पार्टीको प्रशिक्षक भएकाले विषयवस्तु छनोट र प्रस्तुति सरल तरिकाले उच्च विषयवस्तु प्रस्तुत गरेँ ।
एक पिरियड पढाएपछि कतारका मजदुर साथीहरूले बनाउन सक्ने र खानेमध्ये उच्चस्तरको खाना बनाएर खायौँ । खाना खाएपछि केही समय आराम गरेर अर्को डेढ घण्टा पढाएँ । त्यो दिन करिब–करिब पूरै बित्यो । सामान्य चियानास्ता गरेर आआफ्नो बासस्थानतिर लाग्यौँ ।
बाँकी रहेका छ दिन साथीहरूको छुट्टीको दिन पारेर तीन दिन प्रशिक्षण र प्रशिक्षणकै दिन पनि प्रशिक्षणपछि फ्रेस हुने गरी अवलोकन भ्रमण र बाँकी तीन दिन अनुकूलतानुसार कतारका सबै महत्त्वपूर्ण ठाउँ बाँकी नरहने गरी अवलोकन गराउने गरी योजना मिलाइएको रहेछ ।
अन्तिम ३१ गतेको दिन भने विदाको पूर्वतयारीको दिनको रूपमा मात्र उपयोग गरिएको थियो ।
प्रशिक्षणको दोस्रो दिन सबै ठाउँको केन्द्र पारेर एउटा होटलको सभाहलमा र हामी बसेको नजिकै आयोजना गरिएको थियो । त्यो प्रशिक्षण कतार नेपाली एकता समाजमा सङ्गठित सबै सदस्य साथीहरूको सहभागितामा भएको थियो । धेरै साथीहरू सङ्गठित भएको भए पनि ६५ जना मात्र आउन सकेका थिए । डेढडेढ घण्टाका दुई पिरियडको बिचमा चियानास्ताको व्यवस्था थियो । प्रशिक्षणपछि केही समय अवलोकन भ्रमण गएका थियौँ ।
त्यहाँ रहँदासम्म आफ्नै गाडी भएकाले खाना सकेसम्म कतारमा खुवाइने सबै प्रकारका खाना खुवाएर पठाउने योजनानुसार फरक–फरक होटलमा फरक–फरक खाना खुवाउन लगिएको थियो ।
तेस्रो प्रशिक्षण पार्टीका सङ्गठित साथीहरूको बिचमा थियो । साथीहरू उत्सुक थिए । होटलको एउटा कोठामा प्रशिक्षण सम्पन्न भएको थियो ।
चौथो प्रशिक्षण एकता समाज र अन्य समर्थक, शुभचिन्तक नेपाली, अघिल्लो दिनमा आउन नपाएकासमेतको अन्तिम प्रशिक्षण थियो ।
अवलोकन भ्रमणमा कतारका सबै अवलोकनयोग्य समुटीतट, बालुवाको पहाड, जुन सउदी अरबको सिमानानजिक पर्ने रहेछ; र, बतासले एकैछिनमा बनाउने, बिगार्ने र सार्नेसमेत गर्ने रहेछ । त्यहाँ नजिकै समुद्रबाट उत्खनन् गरेर निकालेको ग्यास प्लान्ट रहेछ । त्यो नै कतारको मुख्य आम्दानीको स्रोत रहेछ । त्यो पनि हामीले अवलोकन गरेका थियौँ ।
अवलोकनको दोस्रो फोकस कृषिफार्म थिए । कृषिफार्ममध्ये मुख्य दुध र दुधजन्य पदार्थको उत्पादन केन्द्र गाईफार्म थियो । गाईलाई नबाधिकन घाँस, दाना खाने, चर्ने र दुध दुहुने व्यवस्थासहितको फार्म थियो । एक घण्टामा एक सय गाईलाई मेसिनले दुहेर दुध जम्मा गरिसक्ने र एक जनाले मेसिन जडान गर्न सक्ने स्वचालित व्यवस्थापन अति वैज्ञानिक लाग्यो ।
दोस्रो कृषिफार्म खजुर उत्पादन फार्म थियो । खजुर उत्पादन फार्ममा एउटा हाँगाको फल हामीलाई दिएका थिए । दुई जनाले धौ धौ उचाल्न सक्ने थियो त्यो हाँगा ।
तेस्रो कृषिफार्म उँटफार्म थियो । उँटहरू व्यवस्थित तरिकाले पालिएका थिए ।
भेन्टा उत्पादन गर्न भेन्टाका भर्खर सारिएका बेर्नाको प्लट पनि हामीले अवलोकन गरेका थियौँ ।
अवलोकनको तेस्रो फोकस म्युजियम (सङ्ग्रहालय) थियो । सङ्ग्रहालयमा कतारको परापूर्व कालको तेल उत्खनन् हुनुभन्दा पहिलेको दुःखदायी अवस्थाको चित्रण गरिएका सामग्री राखिएका थिए ।
चौथो फोकस व्यापारिक मलहरू थिए । पुरानो व्यापारिक मल तुलनात्मक रूपमा सानो र धेरै तल्ला भएको थियो । तर नयाँ भने एकतल्ले, बिचमा स्विमिङ पुल भएको र त्यसको आकासमा कृतिम बादल उडेको देखिने सयाँै स्टलमा आवश्यकताका सबै सामान पाइने व्यापारिक मल थियो ।
म १५ देखि ६७ वर्षसम्म शिक्षणपेसामा यो वा त्यो रूपमा लागेको छु । शिक्षणपेसालाई आधार बनाएर एसएलसी, आइएस्सी, बिएड र एमएडसमेत नियमित विद्यार्थीको रूपमा अध्ययन गरेर मैले प्रमाणपत्रसमेत प्राप्त गरेको छु । प्राइमरी स्कुलको शिक्षक, मिडलस्कुलको शिक्षक, हाइस्कुलको शिक्षक, क्याम्पसको लेक्चरर गर्दै मैले ४५ वर्ष बिताएँ ।
एमएड पास गरेपछि राष्ट्रिय जनमोर्चाको प्रशिक्षक भएपछि आफूलाई सबैभन्दा कठिन काम गर्नुपरेको महसुस गरेको छु । एकातिर विषयवस्तु अप्ठेरो, अर्कोतिर सहभागी प्रशिक्षार्थीको असमान चेतनास्तर—यी दुई वटा कठिनाइँको सामना गर्दै गएको मैले कतारको ११ दिनको प्रशिक्षण कार्यक्रम सबैभन्दा व्यस्त, व्यवस्थित, मर्यादित र म आफैलाई तेस्रो देशको शिक्षाप्रद अनुभव भएको महसुस गरेँ ।
नेपालमा भन्दा भारतको प्रशिक्षणमा बढी उत्सुकता हुन्छ । त्यसैले भारतमा मजदुरको बिचमा बढी प्रशिक्षण सञ्चालन भएको हुन्छ ।
कतारमा पनि मजदुरको बिचमा नै प्रशिक्षण कार्यक्रम सञ्चालन भएको थियो । अर्को कारण भारतमा देशभित्रबाट अरू नेतृत्वपङ्क्तिमध्येबाट धेरै जना र धेरै पटक गएर प्रशिक्षण कार्यक्रम सञ्चालन हुन सक्छ; र, भइरहेको पनि छ । कतारमा खर्चको हिसाबले र पासपोर्ट भिसा आदि व्यावहारिक झन्झटका हिसाबले पनि त्यो सुविधा उपलब्ध हुन सक्ने अवस्था भएन । लामो समयसम्म मजदुर भई काम गरेका र राजनीतिक पार्टीमा सङ्गठित भएको भए पनि प्रशिक्षण, अध्ययन, सङ्घर्ष र निरन्तरता बिना आमूल परिवर्तनको उद्देश्य राख्ने पार्टीमा काम गर्न सकिन्न भन्नेसमेत थाहा पाएको नेतृत्वपङ्क्तिका साथीहरूको लामो प्रतिक्षापछि प्रशिक्षण कार्यक्रम आयोजना गर्न पाएकाले पनि त्यस्तो भएको हुन सक्छ ।