इलामबजार । इलाममा गत चार वर्ष (सन् २०१७–२०२०) मा ९० वटा बलात्कारका घटना घटेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार २०१७ मा ३२, २०१८ मा २३, २०१९ मा २१ र २०२० मा १४ बलात्कारका घटना भएका थिए ।
यस्तै २०१६ मा ११, २०१५ मा २१ र २०१४ मा ११ बलात्कारका घटना भएका थिए । यसमध्ये बलात्कारमा पर्नेमा बालिका बढी देखिन्छ ।
इन्सेकका अनुसार २०१७ मा बलात्कारका ३२ घटनामा २२ बालिका र १० महिला, २०१८ मा बलात्कारका २३ घटनामा १५ बालिका र आठ महिला तथा ०१९ मा बलात्कारका २१ घटनामा बालिकाको सङ्ख्या १३ र महिलाको सङख्या आठ थियो । पछिल्लो चार वर्षमा आत्महत्याका २६५, बलात्कारका ९०, घरेलु हिंसा ८५, बहुविवाह १७, हत्या १५, मानव बेचबिखन आठ, बलात्कारपछि हत्या तीन, जातीय विभेद र कुटपिट दुई÷दुई र बालविवाह भएको इन्सेकको तथ्याङ्कले देखाउँछ ।
आर्थिक अवस्था कमजोर भएका महिला र बालिका बलात्कारको शिकार हुने गरेको प्रतिनिधि ढकालले जानकारी दिइन् । परपुरुषसँग मात्र नभई अभिभावकबाट बलात्कृत हुने क्रम बढेको बताइएको छ । हिंसाका घटना घरभित्रैबाट सुरु हुने र तिनै घटना बलात्कारसम्म पुग्ने गरेको मानवअधिकारकर्मीको भनाइ छ ।