अनिलकिशोर घिमिरे ।।
कोभिड–१९ को कारण लामो समय घरमै बसेपछि काठमाडौँ हिड्ने योजना बन्यो । मङ्सिर ११ गते बिहान ६ः३० बजेको गाडीमा चढ्दै थिएँ । एक्कासी मोबाइलको घण्टी बज्यो । कमरेड एमबीले फोन हान्नुभएको रहेछ । मुकुन्दसहित उहाँको परिवार चढेको गाडी त्रिशुलीमा खस्यो; मुकुन्दजी अस्पताल हुनुहुन्छ; अरू भेटिएका छैनन्; तुरुन्त हिँड्नु र उद्धारको कार्यमा लाग्नु भनेर उहाँले भन्नुभयो ।
म झसङ्ग भएँ । ‘हुन्छ, म हिडिँहाले’ भनेर फोन राखेँ ।
पाल्पा बुटवलको बाटो आजकल हिडिसक्नु छैन । खाल्डाखुल्डी, धुलो, अनि कतिपय ठाउँमा एकतर्फी मात्र भएकाले बुटवल पुग्दा १० बजिसकेछ । बुटवल पुग्दा ‘गाडी बिग्रियो, एक–दुई घण्टा लाग्छ’ भनेर ग्यारेजतिर पो लाग्यो गाडी ।
त्रिशुली घटना सम्झदा आँखा रसाइरहेको छ । जतिसक्दो छिटो पुग्दा ठिक हुन्छ भनेर त्यो गाडी त्यहीँ छोडेर मित्र हरिजीलाई बोलाई राजमार्ग चौराहाबाट अर्काे गाडीमा नारायणघाटको लागि हिँडे ।
मनमा धेरै कुरा खेल्दै गए ।
मुकुन्दराज रोका अखिल नेपाल युवक सङ्घको उपाध्यक्ष हुनुहुन्छ ।
अघिल्लो दिन मात्र मुकुन्दजीसँग सल्लाह भएको थियो– छोरी जेनिसाको पोहोर साल बुटवलमा पत्थरीको अपरेसन भएपछि पनि उनलाई निको भएको थिएन । पटक–पटक अस्पताल ल्याइरहनुपर्ने । लगातार ज्वरो आइरहेपछि पक्कै पनि ब्लडमा गम्भीर प्रकारको समस्या हुन सक्ने डाक्टरको अनुमान थियो । म पनि भोलिपर्सि काठमाडौँ जाँदै छु, तपाईंले नानीलाई लिएर जाँदै गर्नू, टिचिङमा जचाउने व्यवस्था गरौँला ।
उहाँ बेलुकी नै हिडिहाल्नुभएछ । ११ गते बिहान ४ बजेको सेरोफेरो मुग्लिन र कुरिनटारको बिचबाट उहाँसहित श्रीमती जबुना र छोरी जेनिसा चढेको गाडी चालक सूर्य केसीसहित त्रिशुलीमा खसेछ ।
माननीय दुर्गा पौडेलले त्यहाँको सरकारी निकायलाई सम्पर्क गरी छिटो उद्धारको काममा लाग्न भन्नुभयो । मैले पनि सिडिओ र प्रहरी प्रमुखलाई सम्पर्क गरी तत्काल सबै उपाय अपनाउन आग्रह गरेँ ।
म चितवन पुग्दा चालक सूर्य केसि र मुकुन्दजीकी श्रीमती जबुनाको लास निकालिसकिएको थियो । छोरी जेनिसा भेटिएकी थिइनन् ।
पुरानो मेडिकल कलेजमा मुकुन्दजीलाई भेट्न आतुर थिएँ । तर उहाँलाई आइसियूमा लगेर उपचार गर्नुपर्ने भएकाले दुईतीन घण्टा भेट्न नपाइने भयो । त्यही समयमा भालुवाङतिरबाट आएका साथीहरूलाई लिएर घटनास्थलतिर लाग्यौँ ।
छोरी जेनिसालाई खोज्ने काम अझै प्रभावकारी होस् भनेर प्रहरीसँग सल्लाह भयो । सशस्त्र प्रहरीका गोताखोर परिचालन गर्ने र हामीले पनि स्वयम्सेवक परिचालन गरी खोजी कार्य अगाडि बढाउने निधो गर्यौं ।

घटनास्थल पुग्दा एकदम सन्नाटा छायो । ढुङ्गाको जालीको बार छलेर अत्यन्तै अप्ठ्यारो ठाउँमा गाडी खसेको रहेछ । हेर्दै आँखा घुमाउने अनकन्टार पहरो छिचोलेर कसरी मुकुन्द माथि निस्किए होलान् ? करिब ३० फिट गहिरो पानीको रहबाट कसरी जिउँदै निस्कन सफल भए होलान् ? यो साहस र हिम्मत कसरी आए होला ? पौडी खेल्न सिपालु नभएको भए मुकुन्दलाई हामीले कसरी भेट्थ्याँै होला ? यस्तै यस्तै कुरा मनमा खेल्दै गए ।
घटनास्थलको त्यो विभत्स तस्बिरले साहै्र दुखी बनायो । अब कुनै पनि हालतले मुकुन्दजीको उपचारमा ध्यान दिइ उहाँलाई पुरानै अवस्थामा ल्याउनुपर्छ भनेर पूरै त्यता केन्द्रित हुने योजना बनाइयो ।
बेलुकीसम्म प्राप्त भएका जबुना रोका र सूर्य केसीको शवलाई पोस्टमार्टमको व्यवस्था गरी घरतिर पठाउने काम भयो । हामी छोरी जेनिसाको खोजी कार्य र मुकुन्दजीको उपचारको काममा लाग्यौँ ।
एमआरआई रिपोर्टले उहाँको पछाडिपट्टिको घाँटीनेरको हड्डी भाचिएको देखायो । तुरुन्त अपरेसनको प्लानिङ भयो ।
त्यति ठुलो दुर्घटनाबाट कसरी बाँचियो भन्ने मुकुन्दको आफ्नै आवाजमा कुरा सुन्दा मन नै सिरिङ्ग हुन्छ ।
बिहान ४ बजेको चिसो । गाडीहरूको आफ्नै धुनमा ओहोरदोहोर । एक्कासी गाडी खस्यो । केही मुठी पानी खाइसकेपछि थाहा भयो, गाडी त त्रिशुलीमा खसेछ । त्यतिबेलासम्म घाँटी भाच्चिइसकेको थियो । तर पनि उनले ३० फिट गहिरो पानीभित्र गाडीबाट बाहिर निस्कने कोसिस गरे । दुईतीन मुक्का हानेपछि सिसा फुट्यो; र, उनले टाउको हुँदै शरीर बाहिर निकाले ।
त्यतिबेलासम्म उनको श्रीमती र छोरी, अनि ड्राइभरको अत्तोपत्तो छैन । तर पनि उनले हिम्मत हारेनन् । खुट्टाले यताउता छामे तर कसैलाई भेट्याएनन्; अनि, पौडी खेल्दै पानीबाहिर टाउको निकालेर अक्सिजन लिएपछि अलि आँट आयो, बाचिन्छ भन्ने । उनी मरिसकेको मान्छे, बाचिएको छ, जसरी पनि किनारमा जानुपर्छ भनेर पौडी खेल्दै बाहिर आए ।

अनकण्टार अँध्यारो छ । उनी होसमा पनि छन्, बेहोसीमा पनि छन् । किनारमा आउँदा टेक्ने, समाउने चिज केही पाउँदैनन् । एउटा ढुङ्गाको धार भेट्याएपछि त्यसैको भरमा अलि माथि आए ।
शरीर निथु्रक्क भिजेको छ । माथि बाटोमा निस्कने कोसिस गर्छन्, तर अत्यन्तै अप्ठ्यारो भिर मात्र छ । कताकता हात पसार्दै जाँदा एउटा रुखको काडैकाडा भएको लहरो फेला पार्छन् । एक मन फेरि सोच्छन, घाँटी भाँचिएको छ, आखिर मरेको मान्छे न हँु, माथि किन जानू ? तलै झर्छु । फेरि उनी हिम्मत गर्छन् । घरमा भएको कलिलो छोरो सम्झन्छन् । बाँचे त बाचिहालियो भनेर जबर्जस्त खुरी खेल्दै बाटोमा निस्कन्छन् ।
बिहानको झिसमिसे । गाडीहरूको आफ्नै गन्तव्यको रफ्तार । हात दिएर गाडी रोक्ने इसारा गर्छन् । कुनै जड्याहा होला बाटोमा पल्टिएको भन्दै गाडीहरू आफ्नै बाटो लाग्छन् ।
धेरै कोसिस गरेपछि एउटा ट्रक रोकिन्छ । बोल्ने अवस्थामा उनी हुन्नन्; र, सङ्केत गरेर यहाँबाट गाडी झर्याे, मलाई उद्दार गर्नू भन्छन् ।
ट्रकको स्टाफले आफ्नो कपडा दिन्छन्; र, प्रहरीलाई खबर गर्छन् । मुकुन्दको मुखमै झुन्डिएको आफ्नो आमाको नम्बरमा फोन गरिदिन्छन्; र, घटना बताइदिन्छ ।
प्रहरी आएपछि पनि एक छिन विश्वास गर्दैन । धेरै बुझाएपछि मात्र प्रहरीले विश्वास गरी अस्पताल पुर्यायो । अनि, यत्रतत्र हल्ला भयो ।
तत्काल प्रहरी प्रशासन उद्धारको काममा जुट्यो । दिउसोतिर गाडीका साथै जबुना र सूर्यको शव निकालियो । छोरी जेनिसाको खोजी कार्य जारी रह्यो । प्रहरीको प्राविधिक टोलीको कुरानुसार त्रिशुलीमा खसेकामध्य आधा मान्छे भेटिन्छन्, आधालाई भेट्याउन सकिँदैन ।
जेनिसालाई भेट्याउन सकिन्छ कि भनेर धेरै कोसिस गरियो । सबै प्रकारका प्रविधि प्रयोग गरियो । सशस्त्र प्रहरीका एसएसपी कालिदास धौवाजीसँग भेट गरी खोजीकार्यलाई निरन्तरता दिन भन्यौँ । उहाँको अत्यन्तै सहयोगी भूमिका रहयो । उहाँ भन्दै हुनुहुन्थ्यो– हाम्रा कति धेरै तालिमप्राप्त केटाहरूसमेत पानीभित्र यत्तिकै छिर्न सक्दैनन्, मुकुन्दले कसरी त्यत्रो आँट गरे ? हाम्रो पनि अनुसन्धानको विषय हो ।
यता मुकुन्दजीको उपचार पनि भइरह्यो । डा. विनोद र डा. शशिजङ्गको टिमले अपरेसन सम्पन्न गर्याे । मुकुन्दजीको भिनाजुले नियमित रेखदेख गर्नुभयो । हामी पनि मुकुन्दजीको आत्मबल, संयमता र हौसलाका लागि सँगसँगै रह्यौँ ।
छोरी जेनिसालाई त भेट्याउन सकिएन ।
मुकुन्दजी १७ दिनको अस्पताल बसाइपछि घर फर्कनुभयो ।
एउटा दुखद र कहालीलाग्दो घटनाले निरन्तर झस्काइरहेको छ । निःशब्द बनाइरहेको छ । तर पनि मान्छे जन्मनु भनेको मृत्यु भोग्नकै लागि हो । ढिलोचाडो कसैको अकल्पनीय, कसैको असामयिक, कसैको उमेर पुगेर मृत्यु भइरहेको हुन्छ । यसलाई प्राकृतिक सत्यता मानेर मन बुझाउनुको विकल्प छैन ।
मुकुन्दजी ! आफूलाई सम्हाल्नुहोला । तपाईंको ऐतिहासिक साहसिक कार्यलाई हामी सलाम गर्छौं । हामी सँगै छौँ । छिटो निको हुनुहोस् । सामाजिक परिवर्तनको आन्दोलनमा सँगै समर्पित बन्ने हो ।