काठमाडौं । काठमाडौंमा लुटेराहरुको समूहले युवतीको प्रयोग गरेर लुटपाट गर्न थालेको थाह भएको छ । युवतीलाई मोटरसाइकलमा लिफ्ट माग्न लगाउने र लुटेरा समूहसम्म पुर्याएर लुटपाट गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लुटपाटमा संलग्न मध्ये दोलखाको सैलुङ गाउँपालिका ३ का ४९ वर्षीय लालबहादुर श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । समूहका अन्य व्यक्ति भने फरार रहेका छन् ।
युवतीलाई लिफ्ट दिएका सिन्धुलीको कमलामाई नगरपालिका २ का भोलाबहादुर जर्घा मगर लुटिएका हुन् । उनको ६ तोलाको सुनको सिक्री, दुईवटा मोबाइल, चस्मा र ७ हजार रुपैयाँ लुटपाट भएको हो ।
कलंकी जाने भन्दै मोटरसाइकलमा चढेकी युवतीले बिचबाटोमा पुगेपछि चोभारसम्म पु¥याइदिन आग्रह गरेकी थिइन् । युवतीको आग्रहपछि उनलाई पु-याउन चोभार पुगेका भोलाबहादुरलाई त्यहाँ रड देखाएर केही व्यक्तिले लुटपाट गरेका थिए । अन्य फरार व्यक्तिको खोजी भइरहेको महाशाखाले जनाएको छ ।
पक्राउ परेका श्रेष्ठलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ । यो समूहले युवतीको प्रयोग गरेर लुटपाट गर्ने गरेको प्रहरीको भनाई छ ।