खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दुई छोरीसहित हराई रहेकी नेपाली युवतीको उद्धार गरि आफन्तको जिम्मा लगाएको छ । नवलपुर जिल्ला कावासेती नगरपालिका–८ बस्ने ३२ वर्षीया मिना पुलामी विगत दुईमहिनादेखी दुइ छोरी ११ वर्षीया कमला पुलामी र ७ वर्षीया सुमित्रा पुलामी सहित हराएकी थिइन् ।
उनका श्रीमान हर्षबहादुर पुलामीले नवलपुर जिल्ला प्रहरी कार्यालयमा खोजि गरिदिनको लागि निवेदन दिनु भएको थियो । प्रहरीको अनुसन्धानबाट भारतमा रहेको आशंका गरिएको थियो ।
सोही क्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उत्तर भारतका क्षेत्रीय सदस्य लक्ष्मी प्रसाद ज्ञावलीलाई नवलपुर प्रहरी कार्यालयद्वारा संगठन मार्फत खोजिकार्यमा सहयोग पुर्याउन अनुरोध गरिएको थियो ।
नेपाल प्रहरीले लक्ष्मीप्रसाद ज्ञावलीलाई दिएको सूचना अनुसार उनीहरु हरियाणा हिसारमा रहेको आशंकाका आधारमा नगर समिती हिसारका कार्यकर्ताहरु, परिवारका सदस्य र मूल प्रवाह सुदूरपश्चीमोत्तर क्षेत्रीय सल्लाहकार तारा सोमरे, नगर अध्यक्ष नन्दबहादुर लम्तरी, नगर सदस्य केहरसिंह घर्ती मगर, सदस्य राजु परियार र पश्चिमोत्तर क्षेत्रका नेता सालिकराम आचार्य सहितको टोली भिवानी बाजारा गाउँमा खोजी गर्दा, कुखुराको फार्ममा मजदुरी गरिरहेको अवस्थामा फेला पारिएको थियो ।
दुई छोरीसहित ती महिलाई हिसार बस्ने आफन्तहरु दिदी उमा कुमाल, भाइ सफल कुमाल र भिनाजु नरेश कुमाललाई (२० डिसेम्बर) मा जिम्मा लगाएको हिसार नगरसमितीका सचिव तारा सोमारेले जानकारी दिनुभयो ।