खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनालले देशमा प्रतिगमनको खतरा झनझन प्रबल हुँदै गएको बताउनुभएको छ । मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितीद्वारा सञ्चालित लुथियाना नगर समितिले आयोजना गरेको संघीयता विरुद्ध ऐक्यवद्धता सभामा बोल्दै नेता खनालले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका लागि थप संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
‘आज ओलीको कदमले राष्ट्रलाई झन तरल अवस्थामा ल्याएको छ’ उहाँले भन्नुभयो, ‘त्यसकारणले अबका दिनहरुमा हामी अझै शशक्त प्रकारको आन्दोलनमा होमिन तयार हुनुपर्छ ।’
नेपालमा राष्ट्रिय जनमोर्चाले ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता र भष्टाचारविरुद्ध संघर्ष गरौं’ भन्ने नारासहितको कार्यक्रम प्रति ऐक्यवद्धता प्रकट गर्दै विभिन्न नगरहरुमा आइतबार विरोध कार्यक्रम सम्पन्न भएको हो ।
नगर अध्यक्ष उदैसिंह चन्दको अध्यक्षता,मान बहादुर आलेको सञ्चालनमा तथा नन्दराज भण्डारीले स्वागत गर्नुभएको विरोध कार्यक्रममा महिला क्षेत्रिय विभागकी गिता चन्द, मूलप्रवाह क्षेत्रीय सदस्य रामचन्द्र पौडयाल, क्षेत्रीय सदस्य नारायण पोखरेल,जनजाति विभागका मानबहादुर थापा, गोविन्द परियार, शंकर परियार, भगत विक, चक्र चन्द, रवि शर्मा, वलबहादुर विकले पनि सम्बोधन गर्नुभएको थियो ।