काठमाडौं । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक सातामा पाँच जनाले ज्यान गुमाएका छन् । जाडोले कठ्यांग्रिएर सिरहामा चार र बाजुरमा एक जनाको मृत्यु भएको हो ।
चिसोका कारण सिरहाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गत मङ्सिर २२ देखि मङ्सिर २८ गतेसम्मको अवधिमा ती चारै जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले बताउनुभयो । सो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
यता, बाजुराको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीमा ३७ वर्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।
विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिनुभयो ।