काठमाडौं । सरकारले उखु किसानको बक्यौता रकम नतिर्ने मिल सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । बुधबार रौतहट, नवलपरासी र सर्लाहीका जिल्ला प्रशासन कार्यालयले सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
अन्नपूर्ण सुगरमिल सर्लाही र इन्दिरा सुगरमिल नवलपरासीका सञ्चालक राकेश अग्रवाल, रौतहटस्थित श्रीराम सुगरमिलका सञ्चालकद्वय हितेश गोल्छा र विशाल अग्रवाल, पश्चिम नवलपरासीस्थित लुम्बिनी सुगरमिलका श्रेया अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी भएको गृह स्रोतले जनाएको छ ।
गृह मन्त्रालयले किसानको रकम भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गरी कारबाही गर्न मंगलबार सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो । बुधबार गृहमन्त्री, उद्योगमन्त्री, कृषिमन्त्री र संघीय मामिलामन्त्रीको गृह मन्त्रालयमा बसेको बैठकले उक्त निर्णय गरेको थियो ।
आफ्नो उत्पादनको भुक्तानी पाउनुपर्ने माग राखी उखु किसानहरु काठमाडौं आएर आन्दोलित छन् । उनीहरु गत वर्ष सरकारले गरेको सहमति कार्यान्वयन गर्न र आफ्नो उत्पादनको भुक्तानी पाउनुपर्ने माग गर्दै मंसिर २८ गतेदेखि माइतीघरमा आन्दोलन गरेका हुन् ।
गत वर्ष पुसमा सरकारले बक्यौता उठाइदिने भनी सम्झौता गरेपछि किसानहरु फर्किएका थिए तर उद्योगमन्त्री भट्टले पुनः उनीहरुको मागमा उदासीनता देखाएपछि फेरि आन्दोलन गरिरहेका छन् ।