गुरुप्रसाद कुमाल ‘बुलबुल’ ।।
२०७२ भदौदेखि असोजतिरको कुरा हो । चितवनमा एनसेल नेपालको एडिएसएस अप्टिकल फाइबर इन्स्टालेसन प्रोजेक्ट चलिरहेको थियो । यस प्रोजेक्टको ठेकेदार कम्पनी पश्चिमाञ्चल सोलुसन प्रालि पोखरा थियो । हामी थियौँ, यस कम्पनीका मजदुर ।
यस प्रोजेक्टमा कैलाली, बर्दिया, दाङ, तनहुँ, कास्की, पर्वत, बारा, झापालगायतका ठाउँबाट मजदुर आएका थिए । यस प्रोजेक्टमा लमही समूह विशेष थियो । लमही समूहले यसअघि नै पश्चिमाञ्चल सोलुसनमार्फत नेपाल टेलिकमको एडिएसएस प्रोजेक्ट सम्पन्न गरिसकेको थियोे । लमही समूहले लमही–झिमरुक, तुलसीपुर–सल्यान, प्युठान–अर्घाखाँची–गुल्मी, पोखरालगायत ठाउँमा आफ्नो कार्यक्षमता देखाइसकेको थियोे ।
म भने यस काममा नयाँ थिएँ । नयाँ भए पनि राम्रो काम गर्ने साथीहरूसँग मिसिएर गएको थिएँ । ‘लमही टिम’ भनेर साहुले खुबै प्रशंसा गर्थे । त्यसमा पनि नारायणप्रसाद कुमालको सबैले खुलेर प्रशंसा गर्थे । यस पटक भने नारायण थिएनन्, विदेश गइसकेका थिए । नेपालमै राम्रो तलब, अनि अन्य सेवासुविधा पाए कोही पनि विदेशिँदैनथे होला । आखिर कहिलेसम्म नेपाली युवाले विदेशीको चाकडी गर्नुपर्ने हो ?
चितवनको रामपुर बसाइ रहेछ । हामी त्यहाँ पुग्दा अरू ठाउँबाट मजदुरहरू आइसकेका थिए । केही ठाउँबाट अझै आउँदै रहेछन् । हामी त्यहाँ पुग्दा साथीहरूले बस्नका लागि हलकोठा सफाइ गरिरहनुभएको थियोे । त्यहाँ कसैले धानको भकारी अर्काे कोठामा सार्ने काम गरे । कोहीले भने बढार्ने आदि काम गर्यौं । यसरी सबै मिलेर हलकोठा सफा गर्यौं । अनि, साँझपख लगभग ८०–९० जना समूह त्यही हलकोठामा खाना खाएर सुत्यौँ ।

भोलिपल्ट हाम्रो छुट्टाछुट्टै समूह बनाइयो । यसअघि प्रोजेक्ट गरेकालाई मुख्य नेतृत्व दिएर समूह बनाइएको थियो । कम्पनीका म्यानेजिङ डिरेक्टर चन्द्र भट्टराई पनि फिल्डमा खटिएका थिए । इन्जिनियर सुमन लामिछाने र आनन्द भट्टराई थिए । शिव शाही, भुवन भट्टराई, रोशन पौडेल, राजन बराल, सुरेन्द्र लामिछाने, अरविन्द चौधरीलगायतको समूह फाइबर तान्न हिँड्यो । सबै साथीहरूले हातमा पन्जा, ज्याकेट, हेलमेट र बेल्टलगायतको सुरक्षाका सामग्री प्रयोग गरेर हिड्दा नेपालका फौजीहरूले बाटो बनाउन हिँडेजस्तो देखिन्थ्यो । साँच्चै भन्ने हो भने हामी देश बनाउनकै लागि हिँडेका थियौँ । अहिले त्यही फाइबरमा फोरजी चलिरहेको छ । अब फाइभजी चलाउने तयारी हुँदै छ ।
हाम्रो समूहले रामपुरबाट फाइबर तान्न सुरु गर्याे । केही साथीहरूले फाइबर तान्ने, केहीले खोल्ने, एक जनाले विद्युतको पोलमा भर्याङ लाउने र बोक्ने, अनि अरूले ड्रमबाट फाइबर खोल्ने यसरी कार्यविभाजन भयो ।
पहिलो दिन म फाइबर तान्ने समूहमा मिसिएँ । सुरुमा त सजिलो हुने रहेछ । पछि फाइबर तान्दा तान्दा एक किलोमिटर दुरी पुग्दानपुग्दै तान्नै गाह्रो हुन्थ्यो । एउटा ड्रममा दुई किलोमिटर फाइबर हुन्छ । एक किलोमिटर तानिसकेपछि फाइबर खोलेर अङ्ग्रेजी ‘आठ’ (एट) बनाउनु पथ्र्यो । एट बनाइसकेपछि अर्काे टुप्पो अर्काेतिर तान्थ्यौँ ।
भदौरे घाम, त्यहीमाथि फाइबर जोरकातोर तान्नुपरेको छ । पसिनाले पुरै जिउ भिजेको छ । ज्यान थाकेर लखतरान परेको छ । यो देखेर गाउँलेहरू टिठाउँथे । ‘पानी खाऊ बाबु हो, एक छिन आराम गर’ भन्थे । पानी दिन्थे; काँक्रा काटेर खान दिन्थे ।
लेबरनगर हो या लेबरगन्ज हो, त्यहाँको बुढी आमाको खुबै याद आउँछ । सानो चिटिक्कको घरमा ती बुढी आमा एक्लै हुनुहुन्थ्यो । उहाँले एकछिन भए पनि आराम गर भनेर घरभित्रबाट मुढा ल्याएर बस्न दिनुभयो । चिसो पानी पिउन दिनुभयो ।
उहाँको घरनजिक धारा थिएन । पानी लिन अलि टाढा जानुपर्दाे रहेछ । त्यति टाढाबाट पानी बोकेर पिलाउने आमाको आँगन आफ्नै घरको आँगनजस्तो लाग्यो । ती आमा आफ्नै आमाजस्तो लाग्यो । आफ्नै देश परदेशजस्तो भएको त्यो क्षण काम छोडेर घरतिर भागौँजस्तो लाग्यो । सँगै काम गर्ने साथीहरू गणेश, लक्की, अनि शरद काम छोडेर घरतिर लागे । मेरो मात्र मुख भए त हिँडिदिए पनि हुन्थ्यो, त्यसैले म काममा खटिइरहेँ ।
तोरीखेततिरको कुरो हो । एक जना अधबैँसे महिलालाई कैलालीबाट आएका सीताराम चौधरीले ‘ए भाउजू ! खुर्पा दिनुस् न, रुखको हाँगा काट्नुपर्याे’ भने छन् । ‘तेरो दाइले बिहे गर्या’छ र भाउजु भन्छस ?’ ती आइमाईले दिइछन् । यस्तै अरू पनि नानाथरि कुरा भनिन् । साथीहरू कोही गलल्ल हाँसे । कोही चुप लागेर सुने । धेरै बोल्ने कुरा भएन ।
हप्तादिनपछि म टेन्सन लाउने काममा लागेँ । टेन्सन लाउन एकदमै जोखिमको काम हो । टेन्सन आल्मुनियमको हुन्छ । लाउँदा–लाउँदै विद्युतको तारमा छोइयो भने करेन्ट लागेर मर्नेबाँच्ने ठेगान हुँदैन ।
केही दिनपछि सस्पेन्सन लाउने हाम्रो समूह बन्यो । पोलमा रामु चढ्थे । हामी कोही सस्पेन्सन बोक्थ्यौँ । कोही भर्याङ बोक्ने, पोलमा लाउने काम गर्थे । रामु एक्लै पोलमा चढ्दा थाक्थे । अरूले पाँच सयका लागि कसले ज्यान जोखिममा राख्छ भनेर पोलमा चढ्दैनथे । ‘हाम्रा गाउँका केटाहरूले काम सिक्नै चाहन्नन्’ भन्न थाले रामुले ।
पछि मैले पनि महसुस गरेँ; अनि, पोलमा चढेर सस्पेन्सन लाउन थालेँ । यसरी काम गर्दा धेरै पटक करेन्ट लाग्यो । क्लेम्प गर्दा पत्तीले विद्युतको तार छुने रहेछ; अनि, झट्का हान्थ्यो । पट्याङ आवाजसहित आगोको झिल्का निस्कन्थ्यो ।
एक पटक करेन्ट लागेर म झन्डै मरेँ । घटना रोजगार्डेनतिरको हो । गाउँतिरको काम सकेर हामी सहर पसिसकेका थियौँ । रोजगार्डेनको त्यो टोलको बाटो भर्खरै कालोपत्रे गरिएको थियोे । त्यहाँका मान्छेले भर्याङ लाउन दिँदैनथे । कालोपत्रे उप्किन्छ भन्थे ।
सस्पेन्सन लाउँदै जाँदा एउटा घरमा विद्युतको पोल घरको पर्खालभित्र परेको थियो । त्यस घरको आँगनमा भर्खरै मार्बल लाएको थियोे । त्यस घरकी महिलाले गेटबाट भित्र जानै दिइनन् । बाहिरबाट काम गर्न सक्ने अवस्थै थिएन । एकदमै जोखिम थियोे । जति बिन्ती गरे पनि भित्र गएर काम गर्ने अनुमति नपाएपछि बाहिरबाट भर्याङ लाएर पोलमा चढेँ ।
फाइबर पोलको पल्लो पट्टि थियोे । पल्लो पट्टिको फाइबरमा सस्पेन्सन लाउनुपर्ने थियोे । एकदमै सावधानीका साथ क्लेम्प गरेँ । अब सस्पेन्सन लाउँछुभन्दा विद्युतको तारलाई अँगालो हाल्न पुगे छु । केही सेकेन्डसम्म मजाले चुम्बन गर्याे करेन्टले । पछि ठुलो झट्का दिएर छोड्यो; अनि, बल्ल म ठुलो आवाजमा चिच्याएँ ।
साथीहरू “के भयो” भन्दै दौडेर आए । म फटाफट तल झरेँ । ‘म ठिकै’ छु भनेँ । करेन्टले कसरी चुसेको थियो भन्ने त मलाई मात्र थाहा थियो, जुन म शब्दमा व्यक्त गर्न न त्यति बेला सकेँ, न अहिले सक्छु ।
जे होस्, करेन्ट लाग्यो भन्ने थाहा सबैले पाए । म बाचेँ । मलाई युद्ध जितेर आएजस्तै लाग्यो । करेन्टको झट्काले निमेशभरमा हाम्रो जीवन कसरी निल्न सक्दो रहेछ ? अचम्म लाग्यो । नगन्य समयमा मैले मेरो परिवार, नातागोता, साथीभाइ, अहिलेसम्म गरेका राम्रानराम्रा सबै काम सम्झेर एक मनले बिदा पनि लिइसकेको थिएँ ।
मलाई करेन्ट लागेपछि बल्ल ती महिलाले गेटबाट भित्र गएर काम गर्न दिइन् । त्यही दिन त्यही टोलमा ओमप्रकाश र देवराजलाई पनि करेन्ट लागेको थियोे ।
गाउँमा मान्छेहरू एकर्कालाई सहयोग गर्छन् । अप्ठ्यारोमा सहभागी हुन्छन् । पानी माग्दा मही दिन्छन्, तर सहरका मान्छे स्वार्थी हुन्छन् । मान्छेका मानवता भन्ने हुँदैन । सहरमा मानवता हराइसक्यो, सायद !? त्यस दिन करेन्ट लागेर म मरेको भए ती महिलालाई कत्ति पनि पछुतो हुँदैनथ्यो होला कि ?