काठमाडौं । भारतको मध्य प्रदेशमा मृत्यु भयो भनि अन्त्येष्टि गरिएका व्यक्ति केही घण्टामै घर फर्किएपछि परिवार गाउँलेहरु आश्चर्यचकित भएका छन् । मध्य प्रदेशको शियोपुर, बडोदाको माताजी सडकका दिलीप शुक्लाको (हिजो) शुक्रबार अन्त्येष्टि गरिएको थियो तर, उनी सोही दिन जीवितै फर्किका हुन् ।
४/५ दिनदेखि घरबाट हराएका दिलीपको हुलियासँग मिल्दोजुल्दो एक व्यक्तिको शव प्रहरीले बिहीबार साँझ मसानघाट नजिकैको पुलको गेटमा फेला पारेको थियो । मृतकका आफन्तले पहिचान गरुन् भनेर प्रहरीले शवको फोटो सामाजिक सञ्जालमा राखेको थियो ।
आजतकका अनुसार सो फोटो हेरेपछि दिलीपका दाजुले आफ्नो भाइ ४/५ दिनदेखि हराएको र भाइकै शव भएको भन्दै प्रहरीबाट शव बुझेका थिए । त्यसपछि उनको अन्त्येष्टि गरियो । तर, साँझ दिलीप जीवित घर फर्किए। यो देखेर परिवारमात्र होइन छरछिमेकी समेत आश्चर्य चकित भए ।
मृतक व्यक्ति भने भेला भीमलत गाउँका रामकुमार आदिवासी भएको खुलेको छ । प्रहरीले उनको परिवारको पहिचान भइसकेको भन्दै परिवारलाई अस्तुधातु दिने जनाएको छ ।