चैनपुर । बझाङमा गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलाहरू ओडार र चौरमा बास बसेका छन् । साइपाल गाउँपालिकाले चार पटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बाध्य भएका हुन् ।
साइपाल गाउँपालिकामा बसोबास गर्ने दुई समुदायमा छाउ मान्ने र नमान्ने भएका छन् । साइपाल गाउँपालिकाको धुलीमा रहेका लामा, तामाङ समुदाय महिनावारी भएका बेला घरभित्र बस्ने र अन्य जातिले छाउगोठ, ओढार, खुला आकाशमुनि बस्ने गरेका छन् ।
साइपाल गाउँपालिका धुलिकी पूजा तामाङले भनिन्– “अन्य समुदायमा छाउपडी प्रथा नमाने देवता रिसाउने भनेर भन्छन् । देवताको बाटो छुवाछूत गर्नु हुन्न भन्छन् । हामी पनि साइपालमै बस्छौँ, महिनावारी भएका बेला घरभित्रै बस्छौँ, दही, दुध, मही, घिउ खान्छौँ, त्यस्तो केही हुदैन ।”
गाउँपालिकामा छाउपडी प्रथा उन्मूलन गर्न गाउँपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रम तथा छाउगोठ भत्काउने अभियान सुरु गरे पनि महिलालाई झनै समस्या थपिँदै गएको स्थानीय महिला बताउँछन् । ‘‘समृद्ध गाउँपालिका बनाउनका लागि छाउगोठ भत्काएर मात्रै हुँदैन, मानिसमा चेतना नहुँदासम्म छाउपडी प्रथा उन्मूलन हुन सक्दैन” स्थानीयवासी तिलक विकले भने । गाउँपालिकाका अध्यक्ष राजेन्द्र धाँमी छाउपडी प्रथामा केही सुधार आउँछ कि भनेर छाउगोठ भत्काइएको र केही ठाउँमा सुधार पनि भएको दावी गर्छन् ।
साइपालको लाफडीमा तामाङ समुदायको ३५ घर छन् । यहाँका कसैले पनि छाउ प्रथा मान्दैनन् ।